मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोविन्दबहादुर

949
SHARES
किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोविन्दबहादुर

काठमाडौं । आदिवासी याक्थुङरलिम्बुहरूको प्रतिनिधि संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोविन्दबहादुर लिम्बु (आङ्बुहाङ) निर्वाचित भएका छन् । झापाको भद्रपुरमा सम्पन्न १२औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित ३९ सदस्यीय नयाँ संघीय कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको तीन उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा र चक्र येक्तेन अभिषेक चयन भएका छन् भने महासचिवको जिम्मेवारी अमर तुम्याहाङले पाए । त्यसैगरी उपमहासचिवमा भवानीविक्रम सम्बाहाम्फे निर्वाचित भएका छन् ।

सचिव पदमा लक्ष्मण लावती (मेची भूगोल), जीवन प्रकाश सेर्मा (कोशी भूगोल) र सङ्गीता सुब्बा (लिम्बुवान भूगोल) चयन भए । कोषाध्यक्षमा कुमार जबेगु निर्वाचित भए भने विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै सदस्यहरू पनि महाधिवेशनबाट चयन भएका छन् ।

महाधिबेशनबाट सदस्यहरुमा गङ्गा राई सेर्मा (झापा), धर्मराज लक्सम्बा (झापा), सरस्वती तुम्बाहाङफे (इलाम), रामकुमार योङहाङ (इलाम) लाई छानिएका छन् ।

निर्वाचित सदस्यहरुमा फूल माया नेम्बाङ (पान्थर), महेन्द्रकुमार आङदेम्बे (पान्थर), रीता मादेन (ताप्लेजुङ), बालचन्द्र आङबुहाङ (ताप्लेजुङ), सेसेहाङ हुक्पा चोङबाङ (तेह्रथुम), मनकुमार लिम्बु (सङ्खुवासभा) रहेका छन् ।

त्यस्तै कमलदिप तिगेला सुब्बा (धनकुटा), इन्द्रकुमारी आङ्बो (धनकुटा), धनकुमारी लिम्बु (सुनसरी), मोहनकुमार लिम्बु (सुनसरी), प्रवेश मिभक (मोरङ), डिल्लीमाया थोक्लिहाङ योङहाङ (काठमाडौं), धनकुमार काम्बाङ (काठमाडौं), विष्णुमाया सिङ्गक (ललितपुर), टेकबहादुर लावती (ललितपुर), रामबहादुर लिम्बु (भक्तपुर), सीता हुक्पा चोङबाङ (भक्तपुर) सदस्यमा निर्वाचित भए ।

लिम्बुवान प्रदेशबाट मधुराज केरुङ (पिएचडी) टङ्कमाया लिम्बु, नरेन्द्रराज केरुङ, जितेन साङसेन पन्धाक, सागर केरुङ, मुना लिम्बु, नेवा ताम्सालिङ प्रदेशबाट भिमप्रसाद सुब्बा, रामकुमार सम्बाहाम्फे निर्वाचित भए ।

ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा लगायत काठमाडौं उपत्यका र अन्य जिल्लाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न महाधिवेशनले संस्थालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

महाधिवेशनको बन्द सत्रमा लिम्बुवान आन्दोलन, प्रदेश १ को नामकरणप्रति असहमति, आदिवासी अधिकार, भाषा तथा शिक्षा, सांस्कृतिक संरक्षण, डिजिटलाइजेसन लगायतका विषयमा गहन छलफल भएको थियो । सो क्रममा विभिन्न विषयमा १८ बुँदे प्रस्ताव पारित गरिएको जनाइएको छ ।

महासचिव अमर तुम्याहाङका अनुसार महाधिवेशनले प्रदेश १ को नाम ‘कोशी’ राखिएकोप्रति असहमति जनाउँदै ‘लिम्बुवान, किरात’ प्रदेशको माग पुनः दोहोर्‍याएको छ । साथै लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक तत्काल पारित गर्नुपर्ने माग पनि गरिएको छ ।

त्यसैगरी मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणका क्रममा सुरक्षा बल परिचालन गरेर सिर्जना गरिएको तनावपूर्ण अवस्थाप्रति महाधिवेशनले आपत्ति जनाएको छ । उक्त क्षेत्रलाई आध्यात्मिक तथा सांस्कृतिक रूपमा संवेदनशील मान्दै तत्काल सुरक्षा बल फिर्ता गर्न माग गरिएको छ ।

इम्बिरी याङधाङवा (तमोर नदी) क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाहरूले स्थानीय जीवन, वातावरण र मुन्धुमी स्थलमा पार्ने असरप्रति पनि चुम्लुङले चिन्ता व्यक्त गरेको छ । सर्वोच्च अदालतको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

महाधिवेशनले आदिवासी जनजातिका लागि छुट्टै ‘आदिवासी अधिकार तथा सङ्घ संस्था ऐन’ आवश्यक रहेको उल्लेख गर्दै परम्परागत भूमिमा भइरहेको अतिक्रमणप्रति आपत्ति जनाएको छ । साथै ऐतिहासिक सन्धिअनुसार भूमि अधिकार कायम गर्नुपर्ने मागसमेत अघि सारिएको छ ।

नयाँ नेतृत्वले संगठन सुदृढीकरण, सांस्कृतिक संरक्षण र अधिकारका मुद्दामा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १६, सोमबार १५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP