मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झापा–५ मा बालेन्द्र शाहको ऐतिहासिक जित, केपी शर्मा ओली भारी मतान्तरले पराजित

1.7K
SHARES
झापा–५ मा बालेन्द्र शाहको ऐतिहासिक जित, केपी शर्मा ओली भारी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका बालेन्द्र साह बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको ठूलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित हात पारेका छन् । बालेन्द्रले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै संसदीय इतिहासकै उच्च मतमध्ये एक जित दर्ता गरेका हुन् ।
पराजित भएका ओलीले भने १८ हजार ७३४ मत मात्रै प्राप्त गरेका छन् । ओलीकै गृहजिल्ला झापामा भएको यो परिणामलाई राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ । यस पराजयसँगै ७३ वर्षीय ओलीको लामो संसदीय राजनीतिक यात्रामा लगभग पूर्णविराम लागेको विश्लेषण गर्न थालिएको छ।

अर्कोतर्फ साह भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई झन्डै दुईतिहाइ संसदीय सिट दिलाउन सफल हुँदै भावी प्रधानमन्त्रीका रूपमा अगाडि देखिएका छन् ।

ओलीले संसदीय चुनावमा हार व्यहोरेको यो दोस्रो पटक हो । यसअघि २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी लहर चलेका बेला उनी झापा–७ बाट विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । त्यसबाहेक उनले झापाबाट ६ पटक जित हासिल गरेका थिए । २०७९ सालको चुनावमा पनि झापा–५ बाट ओलीले सर्वाधिक मत ल्याएका थिए, तर यस पटक बालेनले त्यो परिणाम उल्टाइदिएका छन् ।

झापा–५ मा यस पटक कुल १ लाख ६ हजार ३७२ मत खसेको थियो । बालेन्द्रले जित हासिल गर्दा रास्वपाले झापाका पाँचै निर्वाचन क्षेत्रमा जित निकाल्न सफल भएको छ ।

ओलीले बालेनलाई दिए बधाई
निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा तबला बजाइरहेको आफ्नो तस्बिर साझा गर्दै उनले बालेनलाई ‘बाबु’ सम्बोधन गर्दै शुभकामना दिएका हुन् ।

ओलीले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना ।”



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २३, शनिबार १४:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP