मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सफल वार्तापछि मेलम्चीको पानी आजदेखि पुनः काठमाडौंमा पथान्तरण हुने

1.9K
SHARES
सफल वार्तापछि मेलम्चीको पानी आजदेखि पुनः काठमाडौंमा पथान्तरण हुने

सिन्धुपाल्चोक । एक सातादेखि अवरुद्ध रहेको मेलम्ची खानेपानी आयोजनाको पानी आज (बुधबार) देखि पुनः काठमाडौंमा पथान्तरण हुने भएको छ । आन्दोलनरत स्थानीय पीडित र सरकारले गएराति गरेको वार्ता सफल भएपछि आयोजना पुनः सञ्चालनमा आउन लागेको हो ।

आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो । कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा नै पुगेर मागहरू पूरा नभएको भन्दै पीडितले पानी पथान्तरण रोकेर आन्दोलन थालेका थिए ।

वार्तामा शहरी विकास, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङ स्वयम् उपस्थित थिए । उनको संयोजनमा भएको वार्तामा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, सडक विभागका प्रतिनिधिहरू र स्थानीय पीडितहरूबीच सहमति जुटेको हो ।

सहमति अनुसार, २०७८ असारमा आएको विनाशकारी बाढीले क्षति पुर्याएका भौतिक संरचना तथा व्यक्तिगत सम्पत्तिको वास्तविक मूल्यांकन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तीन महिनाभित्र गर्न गराइनेछ । मूल्यांकनमा पीडित पक्षका तीन जना प्रतिनिधि समेत रहनेछन् ।

त्यस्तै, मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने लेबी (शुल्क) सम्बन्धी प्रस्ताव ४५ दिनभित्र मन्त्रिपरिषदमा पेश गरिनेछ । मेलम्ची–हेलम्बु एकीकृत विकास कार्यक्रम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने सहमति पनि वार्तामा भएको छ । खानेपानीको मुहानसम्म पुग्ने सडकका लागि यसअघि २५ करोड रुपैयाँ मात्र विनियोजन गरिएकोमा अब त्यसलाई बढाएर १ अर्ब रुपैयाँको बजेटसहित बहुवर्षीय ठेक्काबाट निर्माण गर्ने सहमति भएको छ ।

सहमति पत्रमा हस्ताक्षर भएपछि आन्दोलनरत स्थानीयहरूले मुहान क्षेत्र खुला गर्ने निर्णय गरेका छन् । यससँगै आजदेखि मेलम्चीको पानी पुनः काठमाडौंमा पथान्तरण गरिनेछ ।

सरकारले सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रिया तुरुन्त अघि बढाउने प्रतिबद्धता जनाएको छ, भने स्थानीयहरूले पनि मेलम्ची आयोजनालाई अब सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने जनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ०१:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP