मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगको निर्देशन: मतदान केन्द्रमा प्राथमिक उपचार सेवा अनिवार्य

546
SHARES
निर्वाचन आयोगको निर्देशन: मतदान केन्द्रमा प्राथमिक उपचार सेवा अनिवार्य

काठमाडौं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचनको दिन मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदानका लागि आउने अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकसहितका मतदातालाई आकस्मिक स्वास्थ्य समस्या हुन सक्ने भएकाले प्राथमिक उपचारको व्यवस्था गर्न आग्रह गरेको हो ।

निर्वाचनका क्रममा देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी सहित) मा मतदान हुने तय गरिएको छ । ती स्थानमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधि तयारी अवस्थामा राख्न आयोगले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदातालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको छ ।

यसका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोगका लागि पत्राचार गरेको छ । साथै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयलाई पनि जानकारी गराइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग सहकार्य जारी राखेको जनाएको छ । मतदाताको सहज सहभागिताका लागि मतदानको दिनअगाडि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने प्रस्तावलाई सरकारबाट स्वीकृति समेत भइसकेको आयोगले जनाएको छ ।

त्यसैगरी मतदानको व्यवस्थापनलाई प्रभावकारी बनाउन मतदान केन्द्र कायम गरिएका विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचना तथा तिनमा रहेका भौतिक सम्पत्ति फागुन १९ देखि २१ गतेसम्म प्रयोग गर्न सकिने गरी सम्बन्धित मन्त्रालय र स्थानीय तहलाई आयोगले पत्राचार गरेको छ ।

आयोगले आवश्यक तयारी र समन्वयका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १६, शनिबार ०६:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP