मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेट

546
SHARES
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूत माओमिङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् । उनले राजदूतले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै नेपाल र चीनबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

राजदूत माओमिङले व्यस्त समयका बीच भेटका लागि समय प्रदान गरेकोमा प्रधानमन्त्री कार्कीप्रति आभार व्यक्त गरे । उनले नेपालमा शान्ति, सुरक्षा र कानुनी शासन कायम राख्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सुनिश्चित गरिएकोमा प्रधानमन्त्रीलाई बधाई पनि दिएका छन् । नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहकार्य जारी रहने बताएका छन् ।

प्रधानमन्त्री कार्कीले पनि लोकतान्त्रिक अभ्यासका रूपमा हुने निर्वाचनमा चीनबाट प्राप्त सद्भावना र सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । साथै विकासका विभिन्न क्षेत्र र परियोजनामा चीनसँगको सहकार्यले नेपाललाई लाभ पुगेको बताउँदै आगामी दिनमा साझेदारी अझ विस्तार हुने विश्वास व्यक्त गरिन् ।

भेटका क्रममा दुवै देशका नागरिकले मनाइरहेको नयाँ वर्ष ‘घोडा वर्ष’को अवसरमा शुभकामना आदानप्रदान पनि गरेका थिए ।

प्रधानमन्त्री कार्कीले नेपालले पञ्चशीलको सिद्धान्त र ‘एक चीन नीति’मा अडिग रहँदै आएको उल्लेख गर्दै छिमेकी मुलुकको हितविपरीत कुनै गतिविधि हुन नदिने अडान पुनः दोहोर्‍याइन् ।

राजदूत माओमिङले नेपाल सरकारको यस नीतिप्रति चीनका राष्ट्रपति तथा चिनियाँ जनताको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १५, शुक्रबार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP