मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच पक्राउ

260
SHARES
वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गरेको आरोपमा पाँच पक्राउ

काठमाडौं । रामेछापमा वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ छन् । यस्तै, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनीहरूले गत १८ भदौको राति खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई घरमै बन्धक बनाएर लुटपाट गरेका थिए ।

प्रहरीका अनुसार आरोपितहरूले वृद्ध दम्पतीको मुखमा प्लास्टिकको टेप लगाउनुका साथै आँखामा पट्टी बाँधेर ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि उनीहरूको घरबाट नगद तथा गरगहना लगायतका सामग्री लुटेर लगेको रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए ।

पक्राउ परेका सुमन काठमाडौंस्थित एक निजी विद्यालयमा चालकका रूपमा कार्यरत रहेको खुलेको छ । उनको साथबाट २५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा बा ७३ प ८७१२ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बसका सहचालक रहेका दीर्घराजको साथबाट ५२ हजार २ सय रुपैयाँ नगद तथा डकैतीका क्रममा लगाएको भनिएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको छ ।

पशुपति मोटरसाइकल इनड्राइभ चालक रहेको खुलेको छ । उनीबाट मोटरसाइकल र ६ हजार ४६० रुपैयाँ नगद बरामद भएको छ । साथै, उनको लक्ष्मी सनराइज बैंक खातामा १ लाख ३१ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । उनीबाट पुराना सिक्का, सुनजस्तो देखिने औँठी र बुद्धचित्तका २२ दाना पनि बरामद भएको छ ।

सुनचाँदी व्यवसायमा संलग्न पिताम्बरलाई पनि प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपित गुणराजको साथबाट सुनका दुई थान औँठी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये केही व्यक्तिको विगतमा पनि विभिन्न आपराधिक घटनामा संलग्नता रहेको खुलेको छ । पशुपति यसअघि रामेछापकै एक महादेव मन्दिरको दानपेटिका फुटाएर चोरी गरेको घटनामा संलग्न रहेको पाइएको प्रहरी निरीक्षक राउतले बताए ।

उनका अनुसार पशुपति १ असार २०८३ मा सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी तथा ७ भदौमा रामबहादुर श्रेष्ठको १५ किलोको बोका चोरी भएको घटनामा समेत संलग्न देखिएका छन् । काठमाडौंमा सिक्री लुटेको घटनामा पनि उनको समूहविरुद्ध प्रहरी वृत्त कालिमाटीमा मुद्दा चलेको पाइएको छ ।

यस्तै, दीर्घराजविरुद्ध १४ पुस २०७८ मा रामेछापमै प्रहरीमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलेको प्रहरीले जनाएको छ । गुणराजविरुद्ध भने प्रहरी वृत्त बौद्धमा जुवा कसुरसम्बन्धी मुद्दा चलेको भेटिएको छ ।

प्रहरीका अनुसार यही समूह १८ भदौ २०८३ को बिहान सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित ७५ वर्षीय इमान सिं तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी भएको घटनामा समेत संलग्न रहेको खुलेको छ ।

पक्राउ परेकाहरूबाट बरामद सामग्री तथा उनीहरूको विगतको गतिविधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २२, सोमबार १०:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP