मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भाषा, संस्कृति र राष्ट्रियताको एजेन्डासहित चुनावी मैदानमा सायमी

3K
SHARES
भाषा, संस्कृति र राष्ट्रियताको एजेन्डासहित चुनावी मैदानमा सायमी

काठमाडौं । “कुनै पनि राज्य माथि आक्रमणको सुरुवात त्यहाँको भाषा र संस्कृति माथिको आक्रमणबाट हुन्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै संस्कृति तथा भाषा अभियन्ता सुमन सायमी अहिले चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिनिधित्व गर्दै उनी प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–८ बाट उम्मेदवार बनेका हुन् ।

काठमाडौँ–८ क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर १३, १५, १९, २०, २३ र २४ पर्छन् भने नागार्जुन नगरपालिकाका वडा नम्बर ४ र ५ पनि यसै क्षेत्रमा समेटिएका छन् । राजनीतिक दृष्टिले महत्त्वपूर्ण मानिने यो क्षेत्रमा नेपाली कांग्रेसले सपना राज भण्डारीलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा विजयी भएका रास्वपाका बिराज भक्त श्रेष्ठको लोकप्रियता यसपटक घटेको आँकलन गरिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसको उम्मेदवारी नभएका कारण त्यसको मत रास्वपातर्फ गएको अनुमान गरिए पनि यसपटक समीकरण फरक रहेको राजनीतिक वृत्तमा चर्चा छ ।

विशेषगरी सबैभन्दा ठूलो वडा नम्बर १५ मा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा जित हात पारेको पृष्ठभूमिले नेकपाको सम्भावना बलियो रहेको विश्लेषण गरिँदै आएको छ ।

सायमी रास्वपाको ‘नयाँ शक्ति’ दाबीप्रति प्रश्न उठाउँछन् । उनका अनुसार नयाँपनको दाबी मात्रै पर्याप्त हुँदैन, नीति र विचारमा स्पष्टता आवश्यक हुन्छ । रास्वपाले सत्ताको अनुभव पनि हासिल गरिसकेको र उसका उम्मेदवार बिराजभक्त श्रेष्ठ खेलकुद मन्त्री भइसकेका व्यक्ति भएकाले ‘पूर्ण रूपमा नयाँ’ भन्ने दाबी यथार्थसँग मेल नखाने उनको भनाइ छ ।

देशको प्रजातान्त्रिक र समानताको आन्दोलनले सात दशक पार गरिसकेको सन्दर्भ स्मरण गर्दै सायमी भन्छन्, “पपुलिजम सधैं टिकाउ हुँदैन ।” उनका अनुसार अहिलेको मूल मुद्दा राष्ट्रियताको हो । भाषा, संस्कृति र पहिचान जोगाउँदै राष्ट्रलाई सुदृढ बनाउने अभियानमा आफू नेकपामार्फत सक्रिय भएको उनी बताउँछन् ।

सायमीको दीर्घकालीन अभियान नै भाषा र संस्कृतिको संरक्षण हो । उनी भन्छन्, “संस्कृति जोगियो भने मात्र देश जोगिन्छ ।” सबै जाति, भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने अभियानमा नेकपा र आफ्नो उम्मेदवारी जोडिएको उनको दाबी छ ।

काठमाडौँ–८ का नागरिकका दैनन्दिन समस्याहरू (पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य र जीवनयापनसँग सम्बन्धित चुनौतीहरू) समाधानका लागि आफ्नो दलको घोषणापत्रमा स्पष्ट योजना समेटिएको सायमी बताउँछन् । पदमा रहेर वा नरहे पनि जनताका मुद्दामा आफ्नो सक्रियता निरन्तर रहने उनको प्रतिबद्धता छ ।

उनका अनुसार नेपालमा अहिले उठिरहेको आवाज राष्ट्रियताको आवाज हो । लामो समयदेखि भाषा र संस्कृतिको अभियानमा सक्रिय सुमन सायमी र उनको दल नेकपा राष्ट्रियता र सांस्कृतिक संरक्षणको सवालमा स्पष्ट र प्रतिबद्ध रहेको उनी बताउँछन् । यही एजेन्डालाई आधार बनाएर २१ फागुनमा हुने निर्वाचनमा काठमाडौँ–८ का मतदाताले आफ्नो अभियानलाई समर्थन गर्नेमा उनी विश्वस्त छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ७, बिहीबार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP