मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टिकटकबाट निर्वाचनमा सहभागिताः निर्वाचन आयोगको भिडियो प्रतियोगिता घोषणा

2.5K
SHARES
टिकटकबाट निर्वाचनमा सहभागिताः निर्वाचन आयोगको भिडियो प्रतियोगिता घोषणा

काठमाडौं । रमाइलोका लागि प्रयोग हुँदै आएको टिकटक अब राष्ट्रिय दायित्वसँग जोडिने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ । निर्वाचनलाई भव्य, सभ्य र सहभागितामूलक बनाउन सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा र प्रचारप्रसार गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो ।

आयोगका अनुसार फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा एक मिनेट अवधिको सन्देशमूलक तथा संवादमूलक टिकटक भिडियो तयार गरी आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । साथै उक्त भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्राप्त भिडियोमध्ये सबैभन्दा धेरै भ्युज प्राप्त गर्ने तीन उत्कृष्ट भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।

भिडियोमा निर्वाचनको महत्व, आवश्यकता, मतपत्रमा सही तरिकाले छाप लगाउने प्रक्रिया, निर्वाचन आचारसंहिता पालना, मतदाताको अधिकार र कर्तव्यजस्ता विषय समेटिनुपर्नेछ । साथै मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने सन्देशसमेत समावेश गर्न सकिनेछ । भिडियो मौलिक अडियो, अभिनय र प्रस्तुतीकरणसहित तयार पारिएको हुनुपर्नेछ, जसलाई विशेष प्राथमिकता दिइने बताइएको छ ।

एक व्यक्तिले एउटा विषयमा एक भिडियो मात्र पठाउन सक्नेछ भने दुई वा दुईभन्दा बढी व्यक्तिले समूहमा पनि भिडियो निर्माण गर्न सक्नेछन् । प्रतियोगितामा सहभागी सबै भिडियोमाथि आयोगको अधिकार रहनेछ र आयोगले ती भिडियो आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्नेछ । उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको संयुक्त मूल्याङ्कनबाट गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ८, शुक्रबार ०१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP