मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरबाट चुनावी अभियान थाल्दै कांग्रेस, ‘जिवित दस्तावेज’का रूपमा प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी

650
SHARES
जनकपुरबाट चुनावी अभियान थाल्दै कांग्रेस, ‘जिवित दस्तावेज’का रूपमा प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी

काठकाडौं । नेपाली कांग्रेसले फागुन ६ गते मधेस प्रदेशको राजधानी जनकपुरधामबाट औपचारिक चुनावी अभियान सुरु गर्ने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार फागुन ४ गतेदेखि देशव्यापी प्रचारप्रसार कार्यक्रम थालिने कांग्रेसले जनाएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार फागुन ६ गते जनकपुरमा विशाल आमसभा आयोजना गरिनेछ । त्यसअघि फागुन ३ गते कांग्रेसले आफ्नो चुनावी घोषणा–पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । ‘प्रतिज्ञापत्र’ नाम दिइएको उक्त दस्तावेजलाई पार्टीले यसपटक जनताले हरेक दिन सन्दर्भका रूपमा प्रयोग गर्न सक्ने “जिवित दस्तावेज” बनाइने दाबी गरेको छ ।

कांग्रेसले जनाएको अनुसार सभापति गगन थापा को नेतृत्वमा विस्तृत अध्ययन, अनुसन्धान र आन्तरिक विमर्शपछि प्रतिज्ञापत्र तयार गरिएको हो । यस दस्तावेजले देशको समृद्धिका प्राथमिकता, नागरिकका सुख–दुःख र विचारशील लोकतन्त्रका विविध आयाम समेटेर आगामी पाँच वर्षका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने दाबी गरिएको छ ।

प्रवक्ता चालिसेले प्रतिज्ञापत्रका आधारमा आगामी कार्यकालको मूल्याङ्कन गर्ने पूर्ण अधिकार जनतासँग रहने उल्लेख गरेका छन् । पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यप्रवाहमार्फत लोकतन्त्रलाई जीवन्त र गतिशील बनाउने क्षमता कांग्रेससँग रहेको उनको भनाइ छ ।

यसैबीच कांग्रेसले चरम लोकप्रियतावाद अस्वीकार गर्ने स्पष्ट पारेको छ । पार्टीले सभ्य, सुसंस्कृत र सन्तुलित राजनीतिक शैलीलाई प्राथमिकता दिने बताउँदै आमसञ्चार तथा डिजिटल प्लेटफर्महरूमा पनि तर्क, विवेक र सम्मानलाई मार्गदर्शक बनाउने जनाएको छ ।

निर्वाचन आयोगको आचारसंहिताप्रति उच्च सम्मान व्यक्त गर्दै कांग्रेसले त्यसको कार्यान्वयनमा केही दल र तिनका समर्थकबाट भइरहेको उल्लंघनप्रति भने ध्यानाकर्षण गराएको जनाएको छ ।

पार्टीभित्र विशेष महाधिवेशनको पृष्ठभूमिलगायत विषयमा कुनै असमझदारी नरहेको स्पष्ट पार्दै कांग्रेसले निर्वाचनसँगै आन्तरिक एकता थप सुदृढ बन्दै गएको दाबी गरेको छ । निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरू क्षेत्रगत रूपमा खटिएर संगठन सुदृढीकरण तथा चुनावी तयारीमा सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व परिवेशमा लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती बढिरहेको सन्दर्भ उल्लेख गर्दै कांग्रेसले छिमेकी राष्ट्रहरूका घटनाक्रमप्रति सचेत रहने तर आफ्नो प्रमुख ध्यान देश र नागरिकको हितमै केन्द्रित रहने स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २, शनिबार १३:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP