मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछाप बस दुर्घटना: सहमतिपछि आन्दोलन फिर्ता

1K
SHARES
रामेछाप बस दुर्घटना: सहमतिपछि आन्दोलन फिर्ता

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनापछि आन्दोलनमा उत्रिएका मृतकका आफन्त तथा घाइतेका परिवारले आन्दोलन स्थगित गरेका छन् । स्थानीय प्रशासनको उपस्थितिमा पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि विरोधका कार्यक्रम रोकिएका हुन् ।

काठमाडौंबाट ओखलढुङ्गाको खिजीदेम्बास्थित पोल्थली, रगनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो । घटनापछि पीडित परिवारले क्षतिपूर्ति र जिम्मेवारी निर्धारणको माग गर्दै आन्दोलन थालेका थिए ।

जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष र अरनिको यातायातबीच भएको छलफलमा मृतकका परिवारलाई कानूनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि आफन्तले शव परीक्षण सम्पन्न गरी अन्त्येष्टिका लागि लगेका छन् ।

सहमतिअनुसार दुर्घटनामा संलग्न सवारी चालकविरुद्ध प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । दुर्घटनामा हराइरहेको आशंका गरिएका यात्रुको खोजी कार्य जारी राख्ने तथा हराइरहेकाका हकमा पनि सम्बन्धित निकायमार्फत क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ ।

पीडित पक्षले पेश गरेको मागपत्र कार्यान्वयनका लागि अरनिको यातायात, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने सहमति भएको छ । साथै, पीडित पक्षले घोषणा गरेका सबै विरोध कार्यक्रम स्थगित भएका छन् ।

सहमतिमा सवारी सञ्चालनका क्रममा यात्रुको ज्यान जोखिममा पार्ने गरी लापरवाही गरिएको पाइए सवारी दर्ता खारेजसम्मको कारबाही गर्ने विषय पनि समेटिएको छ । स्थानीय तहस्तरमै सवारी सञ्चालन व्यवस्थापन सुदृढ गर्ने, यातायात व्यवसायीले जिम्मेवारी वहन गर्ने र दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैगरी, रामेछाप भित्रिने तथा जिल्लाभित्र सञ्चालन हुने सवारी साधनको सीमा नाका र विभिन्न चेकप्वाइन्टमा अनिवार्य चेकजाँच गर्ने, यात्रुको संख्या तथा सवारी आवतजावतको विवरण अभिलेख राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २९, बिहीबार ०५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP