मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रवि–बालेन सम्झौताप्रति हर्क साम्पाङको कडा कटाक्ष

2.5K
SHARES
रवि–बालेन सम्झौताप्रति हर्क साम्पाङको कडा कटाक्ष

काठमान्डु । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक सम्झौताप्रति तीव्र आलोचना गरेका छन् । आइतबार बिहान दुवैबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त एकतालाई लक्षित कटाक्ष गरेका हुन् ।

विदेशी हस्तक्षेप संस्थागत गर्न खोजिएको आरोप
मेयर साम्पाङले बालेनले रवि लामिछानेसँग सम्झौता गर्नुको उद्देश्य विदेशी हस्तक्षेपलाई संस्थागत गर्नु भएको आरोप लगाएका छन् । सहकारी काण्डदेखि विभिन्न विवादमा तानिएका व्यक्ति तथा एमसिसीजस्ता विषयमा सक्रिय रहेकासँग मिलेर सत्ता र कुर्सीका लागि देशलाई विदेशीका हातमा सुम्पिन तयार भएको व्यक्ति को हो भन्ने प्रश्न उनले उठाएका छन् ।

उनले भनेका छन्, “आज विदेशी हस्तक्षेप हामीले प्रत्यक्ष रूपमा महशुस गरिसकेका छौँ । त्यसलाई संस्थागत गर्न लुकेर बस्ने त्यो व्यक्ति को हो, तपाईंहरूले पनि अनुमान गरिसक्नुभएको होला ।”

जेन–जी आन्दोलनमा उक्साहट र मौनतामाथि प्रश्न
मेयर साम्पाङले मेयर बालेनमाथि जेन–जी पुस्तालाई आन्दोलनमा उक्साएर सडकमा भिड्न पठाइएको तर संकटको घडीमा आफैं भने लुकेर बसेको आरोप पनि लगाएका छन् । उनका अनुसार आन्दोलनका क्रममा सयौं मानिस घाइते हुँदा र देश अराजक अवस्थामा पुग्दा पनि सम्बन्धित व्यक्ति बाहिर ननिस्की चुपचाप बसेको थियो ।

“त्यो व्यक्ति भित्रै लुकेर बस्छ, टुलुटुलु हेरिरहन्छ, मुसुमुसु हाँसिरहन्छ । जेन्जीले सरकारलाई दबाब दिन बोलाउँदा पनि ऊ निस्कँदैन,” साम्पाङले भिडिओ सन्देशमा भनेका छन् ।

जेन–जीका माग बेवास्ता गरिएको दाबी
साम्पाङले उक्त एकताबाट बनेको सरकारले जेन–जी आन्दोलनका मागहरू सम्बोधन नगरेको आरोप पनि लगाएका छन् । उनका अनुसार एक थान चुनावको घोषणाबाहेक आन्दोलनका अन्य कुनै पनि माग पूरा भएनन्, बरु उल्टै जेन–जीमाथि धरपकड गरिएको छ ।

‘प्रश्न सोध्ने बेला आएको’ चेतावनी
भिडिओ सन्देशमार्फत मेयर साम्पाङले अब प्रत्येक नेपालीले प्रश्न सोध्नुपर्ने बेला आएको बताएका छन् । उनले जेन–जीलाई किन उक्साइयो, सिंहदरबार किन जलाइयो, घाइते र मृतकप्रति किन बेवास्ता गरियो, विदेशी चलखेल किन यसरी भित्र्याइयो भन्ने प्रश्नहरू सार्वजनिक रूपमा उठाएका छन् ।

फेसबुक स्ट्याटसमा पनि निरन्तर आक्रोश
भिडिओ सन्देशसँगै मेयर साम्पाङले लगातार फेसबुक स्ट्याटस लेख्दै रवि–बालेन एकतालाई विदेशी चलखेलको परिणाम भनेका छन् । “सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान ! देश सिध्याउँछन् यी विदेशी दलालहरूले,” उनले एक स्ट्याटसमा लेखेका छन् ।

अर्को स्ट्याटसमा उनले जनतामा जाने साहस नभएकाहरूले प्रधानमन्त्री बन्ने सपना देखिरहेको भन्दै मेयर बालेनप्रति कटाक्ष गरेका छन् ।

रवि–बालेन सम्झौताको पृष्ठभूमि
शनिबार बेलुकी ७ बजेदेखि सुरु भएको लगातार छलफलपछि आइतबार बिहान ४ बजे रवि लामिछाने र बालेन शाहबीच एक भएर अघि बढ्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार पार्टीको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ ।

आगामी निर्वाचनमा रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको छ भने पार्टी नेतृत्व भने रवि लामिछानेकै हातमा रहनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १३, आईतवार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP