मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिकतर्फ समावेशी कोटा पुनः निर्धारण, २०७८ को जनगणनाअनुसार उम्मेदवार सूची अनिवार्य

3K
SHARES
समानुपातिकतर्फ समावेशी कोटा पुनः निर्धारण, २०७८ को जनगणनाअनुसार उम्मेदवार सूची अनिवार्य

काठमान्डु । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । अब राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गर्दा २०७८ सालको राष्ट्रिय जनगणनाका आधारमा समावेशी कोटा मिलाउनुपर्नेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए । सो अध्यादेशमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गरिएको हो ।

सरकारले राष्ट्रिय तथ्यांक कार्यालयद्वारा प्रकाशित २०७८ सालको जनगणनाअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायको जनसंख्याको प्रतिशतका आधारमा समावेशी कोटा पुनः निर्धारण गर्न सिफारिस गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संशोधित अध्यादेशअनुसार समानुपातिक प्रणालीतर्फ उम्मेदवार सिफारिस गर्दा नयाँ जनगणनाअनुसारको प्रतिशत अनिवार्य रूपमा मिलाउनुपर्ने निर्णय आयोगले गरेको छ ।

जनगणनाका तथ्यांकअनुसार २०६८ सालमा १३ दशमलब ८ प्रतिशत रहेको दलित जनसंख्या २०७८ मा घटेर १३ दशमलव ४ प्रतिशत पुगेको छ । आदिवासी–जनजाति समुदाय २८ दशमलब ७ बाट २८ दशमलब २ प्रतिशतमा झरेको छ भने खस आर्य समूह ३१ दशमलब २ बाट ३० दशमलब ३ प्रतिशतमा सीमित भएको छ । थारू समुदायको जनसंख्या ६ दशमलब ६ बाट ६ दशमलब ५ प्रतिशतमा सामान्य कमी आएको छ ।

यता मुस्लिम र मधेसी समुदायको जनसंख्यामा भने वृद्धि देखिएको छ । २०६८ को जनगणनामा ४ दशमलब ४ प्रतिशत रहेको मुस्लिम जनसंख्या २०७८ मा बढेर ४ दशमलब ९ प्रतिशत पुगेको छ भने मधेसी समुदाय १५ दशमलब ३ बाट १६ दशमलब ३ प्रतिशतमा पुगेको छ ।

यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ मा २०६८ सालको जनगणनाअनुसार समावेशी समूहको प्रतिशत उल्लेख गरिएको थियो । तर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा २०७८ सालको जनगणनालाई आधार मान्नुपर्ने भएकाले अध्यादेश जारी गरिएको आयोगले स्पष्ट पारेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ आवेदन दिएका राजनीतिक दलहरूले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।

दलका प्रतिनिधिलाई तालिम
निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार सिफारिस गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाबारे राजनीतिक दलका प्रतिनिधिलाई तालिम दिने भएको छ । आयोगका अनुसार पुस ८ र ९ गते आयोजना हुने तालिममा निर्वाचनमा सहभागी हुन आवेदन दिएका पुराना तथा नयाँ सबै दलका प्रतिनिधि सहभागी हुनेछन् ।

सोमबार सर्वपक्षीय छलफल
यसैबीच, प्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, व्यवस्थापन र कानुन संशोधनलगायत विषयमा सोमबार सर्वपक्षीय छलफल हुने भएको छ । सिंहदरबारमा हुने उक्त छलफलमा हालसम्मको तयारी, चुनौती र आगामी रणनीतिबारे विचार–विमर्श गरिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ६, आईतवार ११:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP