मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपाले निर्वाचन उम्मेदवार छनोटमा कडा मापदण्ड लागू गर्‍यो

2.3K
SHARES
नेकपाले निर्वाचन उम्मेदवार छनोटमा कडा मापदण्ड लागू गर्‍यो

काठमान्डु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ तथा कडा मापदण्ड लागू गरेको छ । पार्टीले जारी गरेको आन्तरिक परिपत्रमार्फत कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा स्वच्छ उम्मेदवार मात्रै अघि सारिने स्पष्ट पारेको हो ।

उमेर र कानुनी योग्यता अनिवार्य
परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । साथै मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान तथा प्रचलित कानुनले अयोग्य नठहर्याएको व्यक्ति मात्रै उम्मेदवार बन्न सक्नेछन् ।

बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहका पदाधिकारीलाई यसपटक उम्मेदवारी प्रक्रियाबाटै वञ्चित गरिएको छ ।

आर्थिक पारदर्शितामा कडाइ
पार्टीले आर्थिक स्वच्छतालाई प्रमुख मापदण्ड बनाएको छ । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका, कर–राजश्व अद्यावधिक नगरेका, कालोसूचीमा परेका तथा सम्पत्ति र आयस्रोत खुलाउन तयार नभएका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।

पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि स्वतः अयोग्य हुने परिपत्रमा उल्लेख छ ।

सामाजिक आचरणमा शून्य सहनशीलता
सामाजिक आचरणमा पनि नेकपाले कडा नीति लिएको छ । जातीय वा लैंगिक भेदभाव, घरेलु हिंसा, यौन दुर्व्यवहार, मानव बेचबिखन जस्ता अपराधमा दोषी ठहरिएका व्यक्ति पार्टीको उम्मेदवार बन्न पाउने छैनन् ।

राजनीतिक प्रतिबद्धता र लोकप्रियता आवश्यक
उम्मेदवारले पार्टीको नीति तथा कार्यक्रमप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्नेछ । आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामाझ स्वीकार्यता पनि अनिवार्य मापदण्डका रूपमा तोकिएका छन् ।

सिफारिस प्रक्रियामा युवा र महिलालाई प्राथमिकता
प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक युवा र एक महिला समेट्दै बढीमा पाँच जना उम्मेदवार सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ । जित्ने सम्भावना भएका लोकप्रिय र सक्षम व्यक्तिलाई प्राथमिकता दिन मातहतका कमिटीलाई निर्देशन दिइएको छ ।

समानुपातिकतर्फ समावेशीतामा जोड
समानुपातिक प्रणालीअन्तर्गत महिला, दलित, जनजाति, मधेसी लगायतका क्लस्टर अनिवार्य समेट्नुपर्नेछ । साथै शहीद तथा बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिन निर्देशन दिइएको छ ।

एकै परिवारबाट एकभन्दा बढी व्यक्तिलाई उम्मेदवार सिफारिस गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रिय सभाका लागि प्रदेशगत सिफारिस
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश स्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जना उम्मेदवार सिफारिस गर्न सकिने व्यवस्था गरिएको छ ।

स्वच्छ र जनमुखी उम्मेदवार उतार्ने प्रतिबद्धता
पार्टी नेतृत्वले मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ, सक्षम र जनमुखी उम्मेदवार मात्रै मैदानमा उतार्ने प्रतिबद्धता जनाएको छ । परिपत्र सबै तहका कमिटीसम्म पुगिसकेको नेकपाले जनाएको छ ।

यस कदमले आगामी निर्वाचनमा पार्टीको छवि थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले जारी गरेको आन्तरिक सर्कुलर:

१. उम्मेदवारको योग्यता र मापदण्ड

आगामी माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचन तथा फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूको योग्यता र मापदण्ड निम्नानुसार हुनुपर्नेछ ।

क. आधारभूत कानुनी योग्यता · प्रतिनिधि सभा उम्मेदवारको लागि २५ वर्ष र राष्ट्रिय सभाको उम्मेदवारको लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने ।

-मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने ।

-संविधान र कानुनले अयोग्य मान्ने हुन नहुने ।

-राष्ट्रिय सभा, प्रदेश सभा, स्थानीय तहका पदमा वहालवाला हुन नहुने ।

ख. आर्थिक स्वच्छता र पारदर्शिता

-अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने ।

-कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने ।

-कुनै पनि प्रकारको कालोसूचीमा नरहेको हुनुपर्ने ।

-सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने ।

-कुनै कारोबारमा संलग्न भए कर/राजस्वमा अद्यावधिक भएको हुनुपर्ने ।

-निर्वाचन आयोगले तोकेअनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने ।

-पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने ।

ग. सामाजिक आचरण र व्यवहार

-सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने ।

-जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभावसम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने ।

-घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने ।

घ. राजनीतिक तथा वैचारिक प्रतिबद्धता

-राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिवबद्ध हुनुपर्ने ।

-पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने ।

-आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने ।

-सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने ।

-जनतामा लोकप्रिय हुनुपर्ने ।

२. उम्मेदवारको सिफारिस

क. उम्मेदवारहरू सिफारिस गर्दा माथि उल्लेख गरिएका योग्यता र मापदण्डको साथै निम्न विषयमा ध्यान दिनुपर्ने छ ।

-विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने ।

-नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने ।

-सार्वजनिक संवाद कला हुनुपर्ने ।

-राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने ।

-विभिन्न संघर्षमा योगदान तथा अनुभव हुनुपर्ने ।

३. सिफारिस गर्ने सङ्ख्या प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको सिफारिस निम्नानुसारको सङ्ख्यामा गर्नुपर्ने छ ।

क. प्रत्यक्षतर्फ

-हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने ।

-सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने ।

-सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने ।

ख. समानुपातिकतर्फ

-एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने ।

-एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना ।

-सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने ।

-उपत्यका विशेष प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने ।

-प्रवास प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने ।

-जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने ।

-संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने ।

-सहिदका परिवार, बेपत्ताका परिवार, द्वन्द्वपीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने ।

-एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने ।

ग. राष्ट्रिय सभातर्फ

-राष्ट्रिय सभाको उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्ने ।

-राष्ट्रिय सभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा ५/५ जना सिफारिस गर्ने ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ५, शनिबार ०६:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP