मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सौराहामा पुस ११–१३ गते १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

2.4K
SHARES
सौराहामा पुस ११–१३ गते १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

काठमान्डु । चितवनको प्रमुख पर्यटन केन्द्र सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा, रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सव सञ्चालन हुन लागेको हो ।

मंगलबार काठमान्डुमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै आयोजकले विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना अभिवृद्धि तथा दिगो पर्यटन विकास महोत्सवका मुख्य उद्देश्य रहेको बताए ।

सन् १९९७ देखि निरन्तर आयोजना हुँदै आएको यस महोत्सवले चितवनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको दाबी छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डले चितवनको पर्यटन प्रवर्द्धनका लागि महोत्सवसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गरे । उनले आन्तरिक पर्यटन प्रवर्द्धन र गन्तव्य ब्रान्डिङको सन्दर्भमा हात्ती तथा पर्यटन महोत्सव प्रभावकारी माध्यम बनेको बताए । “चितवनलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा चिनाउन यो महोत्सव उपयोगी सावित भइरहेको छ,” उनले भने, “यसले समग्र नेपाली पर्यटन उद्योगलाई थप उचाइमा पुर्‍याउनेछ ।”

महोत्सवमा हात्तीको पूर्ण सुरक्षालाई प्राथमिकतामा राखी अन्तरराष्ट्रिय मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ । हात्तीमाथि कुनै पनि किसिमको दुर्व्यवहार निषेध गरिएको छ भने पशु चिकित्सकको नियमित निगरानी, तालिमप्राप्त माहुतेको मात्र सहभागिता र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । सबै कार्यक्रम प्रतिस्पर्धामुखीभन्दा पनि मानव–हात्तीबीचको सौहार्दता, संस्कृति र परम्पराको प्रवर्द्धनमा केन्द्रित रहने बताइएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, हात्ती स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीय खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवर्द्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका मुख्य आकर्षण रहनेछन् ।

यसका साथै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन, महिला उद्यमीको सशक्तीकरण र स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि महोत्सवले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । महोत्सव अवधिभर पुस ११ देखि १३ गतेसम्म सौराहाका होटल तथा रेस्टुराँहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था मिलाइएको छ ।

महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँबाट समुद्घाटन हुनेछ ।

आयोजकका अनुसार महोत्सवका कारण प्रत्येक वर्ष सौराहामा पर्यटक आगमन २५ देखि ३० प्रतिशतसम्म वृद्धि हुँदै आएको छ, जसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २, बुधबार ११:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP