मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज: त्याग, साहस र प्रजातन्त्रका प्रतीक

1.6K
SHARES
गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज: त्याग, साहस र प्रजातन्त्रका प्रतीक

काठमाडौ । वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर तथा नेपाली राजनीतिका महान् त्यागी नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज (सोमबार) देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको प्रतीक
नेता सिंह नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका अद्वितीय उदाहरणका रूपमा स्थापित छन् । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा उनले आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै राजनीतिक त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

प्रारम्भिक जीवन र राजनीतिक यात्रा
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा प्रतिष्ठित खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहको निधन वि.सं. २०५४ असोज २ गते भएको हो । उनी वि.सं. १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल ‘प्रजा परिषद्’का सदस्य बने र राणा शासन अन्त्य गर्ने अभियानमा सक्रिय भूमिका खेले ।

राणा शासनविरुद्धको अभियानका क्रममा सिंह जेल परे तर वि.सं. २००७ अघि भद्रगोल जेल फोडी भारत पलायन भए । भारत पुगेर उनले बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्दै वि.सं. २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई सशक्त बनाउन उल्लेखनीय योगदान गरे ।

प्रजातन्त्रका लागि समर्पित संघर्ष
वि.सं. २००७ सालको क्रान्तिमा वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका सिंह प्रजातन्त्र स्थापनाका प्रमुख अग्रदूत हुन् । वि.सं. २०१५ को पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा उनी वरिष्ठ मन्त्री बने ।

तर, वि.सं. २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा बन्दी जीवन बिताए ।

बिपीको अनुयायी र कांग्रेसका दृढ स्तम्भ
बन्दीमुक्त भएपछि सिंहले बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर देश फर्किए र पुनः आन्दोलनमा लागे । वि.सं. २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा पनि उनको नेतृत्व निर्णायक रह्यो ।

बिपीको निधनपछि उनले कांग्रेसको सर्वोच्च नेतृत्व सम्हाली वि.सं. २०४२ को सत्याग्रह आन्दोलन र त्यसपछि वि.सं. २०४६ को जनआन्दोलनमा सर्वोच्च कमान्डरको भूमिका निर्वाह गरे ।

पञ्चायतविरुद्धको निर्णायक भूमिका
वि.सं. २०४६ को जनआन्दोलनका क्रममा गणेशमान सिंहले कम्युनिस्ट दलहरूसँग सहकार्य गर्दै पञ्चायती शासनविरुद्ध संयुक्त आन्दोलन घोषणा गरे ।

उनको नेतृत्व, संयम र निष्ठाले उनलाई सबैको ‘प्रिय नेता’ बनायो ।

बन्दीगृहदेखि सङ्ग्रहालयसम्म
वि.सं. २०१७ पुस १ गतेको राजाकीय कू पछि सिंहलाई बिपीसँगै सुन्दरीजल बन्दीगृहमा थुनियो । पुनः वि.सं. २०३३ पुस १६ गते स्वदेश फर्किँदा उनलाई विमानस्थलमै गिरफ्तार गरी दोस्रो पटक त्यहीँ थुनियो । पछि, वि.सं. २०६१ भदौ २४ गते सुन्दरीजल बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो ।

स्मृति दिवसका कार्यक्रमहरू
गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले आज देशभर विभिन्न श्रद्धाञ्जली कार्यक्रम, र्याली तथा गोष्ठीहरू आयोजना गर्ने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २४, सोमबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP