मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रशासनले तेन्जिङ लामाको नागरिकताको विवरण फेला पार्न सकेन

2.4K
SHARES
प्रशासनले तेन्जिङ लामाको नागरिकताको विवरण फेला पार्न सकेन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टी–सर्ट लगाएर पेस्तोलसहित देखिएका तेन्जिङ दावा लामाको नागरिकता स्थिर छैन भन्ने पुष्टि गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई जवाफ पठाएको छ । जिल्ला प्रहरी परिसरले २०७९ असार २४ मा नागरिकता लिएको भनिएको तेन्जिङबारे सोध्दा प्रशासनले सम्बन्धित फाइल नै फेला नपरेको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार सोही आन्दोलनका बेला प्रशासन कार्यालयमा आगजनी हुँदा केही अभिलेख जलेका थिए र तेन्जिङसम्बन्धी कागजात फेला परेनन् । यही जवाफ प्रहरीलाई पठाइएको पौडेलले बताए ।

असोज २६ मा पक्राउ परेका तेन्जिङको जन्म दर्ता भने काठमाडौं महानगरपालिका–६ बौद्धमा भएको सार्वजनिक अभिलेख देखिन्छ, तर त्यो मिति २०६३ चैत १० शनिबार परेको कारणले प्रक्रिया वैधानिकताबारे प्रश्न उठेको छ । यही विषय यकिन गर्न जिल्ला प्रहरी परिसरका एसएसपी रमेश थापाले वडा कार्यालयलाई पत्राचार गरिएको बताए ।

वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले २०६४ सालपछि मात्र वडामा जन्म दर्ता थालिएको बताउँदै पुराना अभिलेख महानगरपालिकाको नगर कार्यपालिकामा हुने जानकारी दिएका छन् । नागरिकताको सिफारिससमेत वडामा नपाएको उनले बताए ।

भदौ २३ र २४ को आन्दोलनमा ‘टीओबी’ लेखिएको ज्याकेट र बुलेट बाइक चढेका युवासँग उनी देखिएका भिडियो सार्वजनिक भएका छन् । ‘टीओबी’को अर्थ ‘तिब्बतियन ओरिजनल ब्लड’ भन्ने बताइन्छ ।

उनको घरबाट बरामद गरिएको पेस्तोल नक्कली भएको प्रहरीले पुष्टि गरेको छ । बुबा बितेको र आमा भारतको कुशीनगरमा बस्ने गरेको तेन्जिङले बयान दिएका छन्, तर उनले भनेको बहिनीसमेत सम्पर्कमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ । उनका कुनै पारिवारिक सदस्यसमेत अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

‘उहाँको पहिचान नै प्रष्ट छैन,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने, ‘परिवारका कसैसँग पनि सम्पर्क भएको छैन ।’

तेन्जिङले आफूहरू ‘टिओबी बाइकर्स’ समूहका भएको र तिब्बतियन मूलका नेपाली भएको जनाएका छन् । ‘म आधा तिब्बतियन हुँ,’ उनको प्रहरी बयान उद्धृत गर्दै अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

अहिले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । बरामद नागरिकता प्रमाणपत्रमा रहेको हस्ताक्षरसमेत फरेन्सिक परीक्षणका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २, आईतवार ०७:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP