मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकी नयाँ नियम: ग्रीन कार्ड लिन अब आफ्नै देश फर्किनुपर्ने

273
SHARES
अमेरिकी नयाँ नियम: ग्रीन कार्ड लिन अब आफ्नै देश फर्किनुपर्ने

काठमाडौं । अमेरिकाले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ प्राप्त गर्ने प्रक्रियामा नयाँ कडाइ लागू गरेको छ । अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले त्यहीँबाट आफ्नो बसाइँ स्थिति परिवर्तन गरेर ‘ग्रीन कार्ड’का लागि आवेदन दिन नपाउने भएका छन् ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससिआइएस) ले शुक्रबार सार्वजनिक गरेको नयाँ नीतिअनुसार ‘ग्रीन कार्ड’ चाहने विदेशी नागरिकले आवेदन प्रक्रिया पूरा गर्न आफ्नै देश फर्किनुपर्नेछ । उनीहरूले सम्बन्धित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमार्फत प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ ।

अमेरिकी गृह सुरक्षा विभागले यो कदम आप्रवासन कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक भएको जनाएको छ । विभागका अनुसार हालसम्म केही व्यक्तिले कानुनी ‘लुपहोल’ प्रयोग गर्दै अस्थायी बसाइलाई स्थायी बसोबासमा रूपान्तरण गरिरहेका थिए, जसलाई रोक्न नयाँ नीति ल्याइएको हो ।

यूएससिआइएसले जारी गरेको विज्ञप्तिमा आप्रवासन प्रणालीलाई कानुनले तोकेअनुसार सञ्चालन गर्न तथा आवेदन प्रक्रियालाई थप व्यवस्थित बनाउन यो निर्णय सहयोगी हुने उल्लेख गरिएको छ । साथै, अन्य आप्रवासनसम्बन्धी मुद्दा र निवेदन छिटो टुंग्याउन जनशक्ति तथा स्रोत परिचालन गर्न सहज हुने दाबी पनि गरिएको छ ।

तर, आप्रवासी तथा शरणार्थीको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले भने यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । आप्रवासी सहायता संस्था एचआइएएसले मानव बेचबिखनबाट जोगिएका व्यक्ति, हिंसा तथा दुर्व्यवहार भोगेका बालबालिकालाई समेत जोखिमपूर्ण मुलुक फर्कन बाध्य बनाइनु चिन्ताजनक भएको जनाएको छ ।

यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नीति थप कडा बनाउने अभियानअन्तर्गत ल्याएको पछिल्लो कदम मानिएको छ । यसअघि पनि ट्रम्प प्रशासनले विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी तथा सञ्चारकर्मीका भिसा अवधि घटाउने निर्णय गरेको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प पुनः सत्तामा आएपछि हालसम्म एक लाखभन्दा बढी भिसा रद्द गरिसकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ९, शनिबार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP