मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेलको आग्रह : लोकतन्त्रको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प

988
SHARES
राष्ट्रपति पौडेलको आग्रह : लोकतन्त्रको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको स्पष्ट गर्दै आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूलाई पूर्ण रूपमा केन्द्रित हुन आह्वान गरेका छन् ।

शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । उनले सरकारलाई शान्ति सुरक्षाको आवश्यक प्रवन्ध मिलाई निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास दिलाउन सुझाव दिएका छन् ।

राष्ट्रपति पौडेलले राजनीतिक दलहरूलाई निर्वाचनबाहेक कुनै अन्य विकल्प नखोज्न आग्रह गर्दै भने, “कुनै द्धिविधा र अस्पष्टता भए खुलस्त राखौं, तर निर्वाचनको विकल्प खोज्न थालियो भने देशलाई कहाँ पुर्‍याउँछ भन्ने गम्भीरतापूर्वक सोच्न जरुरी छ ।”

उनले दलहरूलाई जनतामा कन्फ्युजन नछर्कन स्पष्ट सन्देशसहित अघि बढ्न र जेन-जी पुस्ताको असन्तुष्टिलाई बुझेर परिवर्तनलाई आत्मसात् गर्न सुझाव दिए । साथै, सुरक्षा चिन्तालाई तत्काल सम्बोधन गर्न पनि आग्रह गरे ।

बैठकमा सहभागी अधिकांश दलहरूले लोकतन्त्रमा आस्था राख्ने सबै दल निर्वाचनमा जान सधैँ तयार रहेको जनाउँदै हालको सुरक्षा अवस्थाले निष्पक्ष र स्वतन्त्र निर्वाचनप्रति संशय पैदा गरेको बताएका थिए । उनीहरूले यो शंका हटाउने जिम्मा सरकारको भएको बताए ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहमति बिना निर्वाचन सम्भव नहुने कुरा सरकारलाई थाहा रहेको बताउँदै निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर रहेको विश्वास दिलाइन् ।

बैठकमा अन्तरिम मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको उपस्थिति थियो भने प्रमुख राजनीतिक दलहरूबाट शीर्ष नेताहरू सहभागी थिए ।

बैठकमा सहभागी प्रमुख नेताहरूः

  • नेपाली कांग्रेसः पूर्णबहादुर खड्का, गगन थापा
  • नेकपा एमालेः ईश्वर पोखरेल, शंकर पोखरेल
  • माओवादी केन्द्रः नारायणकाजी श्रेष्ठ, वर्षमान पुन
  • रास्वपाः डिपी अर्याल, विपिन आचार्य
  • राप्रपाः ज्ञानेन्द्र शाही, मिना लामा
  • एकीकृत समाजवादीः राजेन्द्र पाण्डे, धनश्याम भुषाल
  • जनता समाजवादीः रेनु यादव
  • जसपा नेपालः विद्युत बज्राचार्य, प्रकाश अधिकारी
  • जनमत पार्टीः डा. सीके राउत, डा. जय कुमार राउत
  • लोसपाः ज्ञानेन्द्र झा, सर्वेन्द्रनाथ शुक्ला
  • नागरिक उन्मुक्ती पार्टीः रेशम चौधरी
  • नेपाल मजदुर किसान पार्टीः सुनिल प्रजापति

राष्ट्रपतिले बैठकमा उपस्थित सबै पक्षलाई लोकतन्त्रको रक्षाका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न पुनः आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार १४:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP