मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले त्यागेर माओवादी केन्द्रमा कुँवरको पुनरागमन

2K
SHARES
एमाले त्यागेर माओवादी केन्द्रमा कुँवरको पुनरागमन

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय परिषद्का सदस्य दिपेन्द्र कुँवर ‘यथार्थ’ पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । बैतडी कुवाकोटका कुँवर शनिबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आयोजित कार्यक्रममा औपचारिक रुपमा माओवादी केन्द्र प्रवेश गरेका हुन् । अध्यक्ष दाहालले कुँवरलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

सशस्त्र द्वन्द्वका क्रममा माओवादी संगठनमा क्रियाशील रहेका कुँवर पार्टी विभाजनपछि नेकपा (एमाले)मा लागेका थिए । लामो समयदेखि एमालेको संगठनमा सक्रिय रहेका उनी पुनः वैचारिक मूलधारमा फर्किएको भन्दै दाहाल समूहले स्वागत गरेको हो । माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवरको पहलमा पुनर्मिलन भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य, प्रदेश इञ्चार्ज र अन्य केन्द्रीय नेताहरूको उपस्थिति थियो । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले विगतमा सम्पूर्ण क्रान्तिकारीहरूलाई एकताबद्ध गर्दै समाजवादको यात्रालाई अग्रगमनतर्फ लैजाने यही सही समयमा सुरु भएको बताए । उनले आगामी निर्वाचनदेखि स्थानीय तहसम्म संगठन बलियो बनाउने अभियानमा कुँवरको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कुँवरले पनि माओवादी आन्दोलनबाट आफू कहिल्यै विमुख नभएको बताउँदै नयाँ ऊर्जा र प्रतिबद्धताका साथ पार्टीका अभियानमा सक्रिय हुने प्रतिवद्धता जनाएका छन् ।“‘विभिन्न कारणले केही समय बाहिर रहेँ, तर विचार र सपनासँग कहिल्यै टाढिएको थिइनँ,” उनले भने, “अब फेरि सङ्गठन सुदृढीकरण र क्रान्तिकारी आन्दोलन सशक्त बनाउन लाग्नेछु ।”

माओवादी केन्द्रले पछिल्लो समय ‘पुनर्मिलन’ अभियानमार्फत विगतका नेता–कार्यकर्तालाई पुनः पार्टीमा भित्र्याउने रणनीति अघि बढाएको छ । प्रदेशदेखि वडा तहसम्म छुटेका पुराना क्याडरलाई पुनर्गठित गर्दै संगठन विस्तार गरिरहेको पार्टी स्रोत बताउँछ । पार्टी नेतृत्वले एक वर्षभित्र संगठनात्मक सुदृढीकरण आदानप्रदान कार्यक्रमलाई तीव्र बनाउने तयारी गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३१, शनिबार ०६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP