मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनआरएनए यूकेको उपाध्यक्ष पदमा डा. रक्षा थापाको उम्मेदवारी, सुधारको एजेन्डासहित अभियानमा

2.2K
SHARES
एनआरएनए यूकेको उपाध्यक्ष पदमा डा. रक्षा थापाको उम्मेदवारी, सुधारको एजेन्डासहित अभियानमा

लन्डन । बेलायतस्थित व्यवसायिक र सामाजिक क्षेत्रमा सक्रिय महिला उद्यमी डा. रक्षा थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकी छन् ।

लन्डनमा बिहीबार आयोजित एक भव्य कार्यक्रममार्फत उनले औपचारिक रूपमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै एनआरएन अभियानलाई पारदर्शी, समावेशी र प्रभावकारी बनाउन ११ बुंदे कार्ययोजना सार्वजनिक गरिन् ।

‘संस्था बिग्रिएको छ भनेर छोड्नु हुँदैन, उपचार गर्नैपर्छ भनेर म अगाडि आएकी हुँ,’ उम्मेदवारी घोषणाको क्रममा उनले भनिन् ।

डा. थापा लन्डनस्थित सफल केयर कम्पनी माया सर्पोटेड लिभिङ की निर्देशक हुन् । व्यवसायसँगै सामाजिक संघसंस्थामा पनि उनले लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् ।

सुधार, समावेशिता र सशक्तिकरणमा केन्द्रित प्रतिबद्धता
घोषणासभामा उनले प्रस्तुत गरेका प्रमुख प्रतिवद्धता निम्नानुसार छन्ः

  • एनआरएन संस्थाको संरचना सुदृढीकरण र आन्तरिक एकता प्रवर्धन
  • युवा नेतृत्व विकास र सशक्तिकरण
  • गोर्खा आन्दोलनप्रति ऐक्यवद्धता र बेलायत-नेपाल सरकारसँग समन्वय
  • नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न नीतिगत पहल
  • महिलाको सामाजिक, सांस्कृतिक तथा आर्थिक सशक्तिकरण
  • भाषा, संस्कृति र पहिचान संरक्षण
  • संस्थागत पारदर्शिता र जवाफदेहिता
  • विदेशमा रहेका नेपाली प्रतिभाको प्रतिनिधित्वका लागि बौद्धिक संजाल निर्माण

उनले भनिन्, ‘यो उम्मेदवारी केवल पदको लागि होइन, यो एक दृष्टिकोण हो— संस्थाभित्रै रहेर परिवर्तन सम्भव छ भन्ने विश्वासको घोषणा हो ।’

थापाको अभियानलाई सशक्त समर्थन
घोषणासभामा एनआरएनए यूकेसँग आवद्ध विभिन्न संघसंस्थाका अगुवाहरुले थापालाई समर्थन जनाए ।

उनका श्रीमान् तथा सामाजिक अभियन्ता राज पाण्डेले भने, ‘संस्थालाई गाली गरेर होइन, भित्रबाटै परिवर्तन सम्भव छ भन्ने सोच राखेर हामी अघि बढेका छौं ।’

पूर्व अध्यक्ष उमेशराज मोक्तानले डा. थापालाई खुलेर समर्थन गर्ने घोषणा गरे । उनले भने, ‘अब नेतृत्वमा महिलालाई मौका दिनुपर्छ ।’

यती नेपाली एसोसिएसनका वर्तमान अध्यक्ष टंक भट्टराईले भने, ‘अब एनआरएनएमा युवाको नेतृत्वको आवश्यकता छ र डा. थापाको विगतको यात्रा यसका लागि उपयुक्त उदाहरण हो ।’

आरजीएनएसका पूर्व अध्यक्ष पूण्य रेग्मीले थापाको हेटौंडाबाट यूकेसम्मको यात्रा उल्लेख गर्दै उनी युवापुस्ताको प्रेरणाको स्रोत भएको बताए ।

चुनौतीसँगै आशा
एनआरएनए यूके अहिले विश्वासको संकट, आन्तरिक कलह र नेतृत्वको अस्पष्टतामा रहेको धारणा सर्वत्र छ । सोसाइटी अफ नेपलिज प्रोफेसनल्स यूकेका अध्यक्ष गजेन कटुवालले भने, ‘संस्थाको साख जोगाउन र नयाँ आशा सिर्जना गर्न रक्षा थापाको उम्मेदवारीले सकारात्मक संकेत दिएको छ ।’

पूर्व अध्यक्ष विनोदविकास सिम्खडाले थापाको लिडरसीप क्वालिटी र दृष्टिकोणको प्रशंसा गर्दै नेतृत्वका लागि योग्य उम्मेदवार रहेको बताए ।

निर्वाचन मिति र प्रणाली
एनआरएनए यूकेको निर्वाचन आउँदो २६ जुलाईमा अनलाइन प्रणालीमार्फत हुने तय भएको छ ।

अब हेर्न बाँकी छ— डा. थापाको ‘उपचार’ अभियानले यूकेको एनआरएन संस्थालाई साँच्चिकै पुनःस्थापित गर्न सक्ला त ?



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार १०:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP