मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तातोपानी नाकाबाट पहिलोपटक कन्टेनरमा आयात भयो हेलिकप्टर

1.4K
SHARES
तातोपानी नाकाबाट पहिलोपटक कन्टेनरमा आयात भयो हेलिकप्टर

काठमाडौं । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर भित्रिएको छ । माउन्टेन हेलिकप्टर प्रालिले फ्रान्समा निर्मित एयरबस कम्पनीको हेलिकप्टर चीनको बाटो हुँदै तातोपानीसम्म ल्याएको हो ।

कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरेर ल्याइएको हो । पंखा लगायतका मुख्य पार्टपूर्जा खोलेर कन्टेनरभित्र राखिएको हेलिकप्टर हाल तातोपानी भन्सार कार्यालयमा परीक्षण र कागजी प्रक्रिया पूरा गर्ने चरणमा छ ।

‘फिटिङको काम तातोपानीमै हुन्छ, त्यसपछि सबै प्रक्रिया पूरा गरेर उडाएर काठमाडौं ल्याइन्छ,’ भुसालले जानकारी दिए ।

भन्सार प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि तातोपानी नाकाबाट पहिलोपटक हेलिकप्टर भित्रिन लागेको पुष्टि गरेका छन् । ‘मेरो कार्यकालमै पहिलोपटक यो किसिमको वस्तु आयात भएको हो,’ उनले भने, ‘जाँचपासका लागि १ प्रतिशत शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्नेछ ।’

माउन्टेन हेलिकप्टरले यसअघि एक हेलिकप्टर भारतको कलकत्ता बन्दरगाह हुँदै वीरगञ्जबाट काठमाडौं ल्याएको थियो । तर समुद्री बाटो झन्डै एक महिना लाग्ने भएकाले यसपटक कम्पनीले चीनको भू–मार्ग रोजेको हो ।

भुसालले भने, ‘तातोपानी नाका हुँदै चीनबाट ल्याउँदा ८–१० दिनमै हेलिकप्टर नेपाल ल्याउन सकिन्छ, त्यसैले यो मार्ग बढी उपयुक्त देख्यौं ।’

नेपाल प्रवेशका लागि चीनतर्फ दुई प्रमुख नाका छन्— तातोपानी र टिमुरे । टिमुरे नाका साँघुरो र कठिन भएकाले तातोपानीमार्फत आयात गरिएको कम्पनीले जनाएको छ ।

जाँचपासपछि नयाँ हेलिकप्टर माउन्टेनको व्यावसायिक उडान सेवामा परिचालन गरिनेछ । यो हेलिकप्टरसहित माउन्टेन हेलिकप्टर प्रालिसँग अब तीनवटा हेलिकप्टर रहनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार ०७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP