मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारलाई राईको सुझाव: प्रतिपक्ष र जनताको आवाज नसुनेर अघि नबढ्नू

533
SHARES
सरकारलाई राईको सुझाव: प्रतिपक्ष र जनताको आवाज नसुनेर अघि नबढ्नू

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्ष र जनताले उठाउँदै आएका माग तथा प्रश्नप्रति सरकारले गम्भीरता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले चालू अधिवेशन अन्त्य हुन लाग्दासमेत प्रतिपक्ष तथा जनताले उठाएका महत्वपूर्ण प्रश्नको जवाफ सरकारबाट आउन नसकेको बताए । संसद्मा उठेका विषयलाई बेवास्ता गरेर सरकार अघि बढ्न नहुने उनको भनाइ थियो ।

उनले जनप्रतिनिधिहरूले संसद्मा उठाएका प्रश्न र जनताका अपेक्षालाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिए । सरकारलाई प्रतिपक्षलाई समेत साथमा लिएर सहकार्य र संवादका माध्यमबाट अघि बढ्न उनले आग्रह गरे ।

राईले वर्तमान सरकारलाई आफ्नो कार्यकाल पूरा गर्नेतर्फ केन्द्रित हुन पनि सुझाव दिए । पाँच वर्षसम्म सरकार टिकाउन र आफ्नै कमजोरी तथा गतिविधिका कारण सरकार ढल्ने अवस्था सिर्जना नगर्न उनले सत्तापक्षलाई सचेत गराए ।

विगतका जनआन्दोलनका घटना तथा राजनीतिक दलहरूको गतिविधिप्रति जनतामा देखिएको असन्तुष्टिलाई सरकारले गम्भीर रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो । जनताको आक्रोश बढाउने अवस्था आउन नदिन भ्रष्टाचार नियन्त्रण, सुशासन र जवाफदेहितामा विशेष ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद राईले सत्ता जोगाउने मात्रै उद्देश्य नराखी जनताको विश्वास कायम गर्ने गरी काम गर्न सरकारलाई आग्रह गरे । सरकारका कामकारबाहीप्रति जनताको निगरानी र अपेक्षा दुवै बढिरहेको भन्दै उनले जनताका आवाजलाई बेवास्ता नगर्न सुझाव दिए ।

उनले आगामी संसद् अधिवेशनमा पनि यस्तै विरोध र असन्तुष्टिको वातावरण दोहोरिन नदिन सभामुखको ध्यानाकर्षण गराए । जनप्रतिनिधिका आवाजलाई संसद्मा प्रभावकारी रूपमा उठाउने र जनताका अपेक्षालाई सम्बोधन गर्ने वातावरण निर्माण गर्न सभामुखको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १६, शुक्रबार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP