मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा १२ को वार्षिक परीक्षा फाराम खुला, पुस मसान्तभित्र बुझाउनुपर्ने

2.6K
SHARES
कक्षा १२ को वार्षिक परीक्षा फाराम खुला, पुस मसान्तभित्र बुझाउनुपर्ने

काठमान्डु । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०८२/०८३ को स्वीकृत वार्षिक कार्यतालिकाअनुसार नियमित तथा आंशिक दुबै समूहका विद्यार्थीलाई लक्षित गरी आवेदन आह्वान गरेको हो ।

बोर्डका अनुसार साधारण शुल्कमा आवेदन दिन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ । तोकिएको समयमा नबुझाए माघ १५ गतेसम्म विलम्ब शुल्कसहित आवेदन फाराम भर्न सकिने व्यवस्था गरिएको छ ।

यस वर्षको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् । आंशिकतर्फ भने रजिस्ट्रेसन नम्बर ७९, ८० र ८१ बाट सुरु हुने परीक्षार्थीले आवेदन दिन पाउने बोर्डले जनाएको छ ।

नियमित परीक्षार्थी हुन कक्षा ११ को सैद्धान्तिक विषयमा न्यूनतम ‘डी’ ग्रेड तथा आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड अनिवार्य गरिएको छ । साथै, आवेदन फारामसँगै विद्यालयबाट प्रमाणित कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि बुझाउनुपर्नेछ ।

परीक्षा शुल्क प्रतिविद्यार्थी ८०० रुपैयाँ तोकिएको छ भने विलम्ब शुल्कसहित १६०० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान र होटल म्यानेजमेन्टजस्ता बाह्य परीक्षक आवश्यक पर्ने विषयमा अतिरिक्त प्रयोगात्मक शुल्क लाग्नेछ ।

प्रयोगात्मक शुल्कको केही हिस्सा विद्यालयले आन्तरिक परीक्षकका लागि राखी बाँकी रकम बोर्डको खातामा जम्मा गर्नुपर्नेछ । प्रयोगात्मक परीक्षा २०८२ चैत ३० गतेभित्र सम्पन्न गरी वैशाख १५ गतेसम्म प्राप्ताङ्क बोर्डमा पठाइसक्नुपर्ने कार्यतालिका तय गरिएको छ ।

आंशिक परीक्षार्थीले आफूले कक्षा १२ को नियमित परीक्षा दिएको विद्यालयबाट मात्रै आवेदन दिन पाउनेछन् । कक्षा ११ मा अध्ययन गरेकै विषय र समूहअनुसार विषय छनोट गर्नुपर्नेछ, अन्यथा आवेदन स्वतः रद्द हुने चेतावनी बोर्डले दिएको छ ।

आवेदन फाराम विद्यार्थी स्वयंले भर्नुपर्ने र विद्यालयले ती विवरण बोर्डको अनलाइन पोर्टलमार्फत प्रविष्टि गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानीका लागि बैंक भौचरका साथै कनेक्ट आईपीएस, ई–सेवा, खल्ती र आईएमई–पेजस्ता डिजिटल माध्यम प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ८, मंगलवार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP