मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित, सुपर सिक्समा स्थान पक्का

3.4K
SHARES
टी–२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित, सुपर सिक्समा स्थान पक्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोट अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको छ । यो नेपालको लगातार दोस्रो जित हो ।

समूह बी को अन्तिम खेलमा नेपालले जापानलाई हराउँदै समूह विजेता बनेको हो । यो जितसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ भने जापान अंकविहीन अवस्थामा सुपर सिक्समा पुगेको छ ।

समूह बी मा रहेका तीन टोलीमध्ये नेपाल र जापानले कुवेतलाई पराजित गरेका थिए । तर, कुवेत समूह चरणबाटै बाहिरिएकोले उनीहरूसँग जितेको अंक सुपर सिक्समा जोडिने छैन ।

नेपाल समूह विजेता र जापान उपविजेता बनेका छन् ।

समूह ए बाट यूएई र कतार सुपर सिक्समा प्रवेश गरिसकेका छन् । समूह सी बाट पुग्ने दुई टोलीको टुंगो अझै लाग्न बाँकी छ । नेपालले अब सुपर सिक्समा जापानबाहेक अन्य चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्स चरणको शीर्ष ३ टोलीले भारत र श्रीलंकामा आयोजना हुने आगामी वर्षको टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

ओमानको एल एमिरेट मैदानमा टस जितेर नेपालले जापानलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो । जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो ।

कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन (४६ बल, ५ चौका, ३ छक्का) बनाए । इसाम रहमानले ३१ रनको योगदान गरे ।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट झारे ।

१३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । ओपनरहरू कुशल भुर्तेल र आशिफ शेखले ५ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए ।

कुशल भुर्तेलले २१ बलमा ३ चौका प्रहार गर्दै २१ रनको योगदान गरे भने आशिफ शेखले पनि २१ बल खेल्दै, १ चौका, ४ छक्का ३८ रनको योगदान गरे । कप्तान रोहित पौडेलले १८ रन जोडे । अन्त्यतिर गुल्सन झाले (२० बल, १ चौका, २ छक्का) जोडे भने दिपेन्द्र सिंह ऐरीले १४ बल खेल्दै १४ रन सहित अविजित रहे ।

गुल्सन र दिपेन्द्रबीच छैटौँ विकेटका लागि ४२ रनको साझेदारी भयो जसले नेपाललाई जिततर्फ डोर्यायो ।

नेपालले टी–२० विश्वकप छनोटको समूह चरण उत्कृष्ट प्रदर्शनसहित टुंग्याएको छ । सुपर सिक्समा अब थप चुनौतीपूर्ण खेलहरू हुनेछ, जहाँ शीर्ष तीनमा पर्न नेपाललाई निरन्तरता र उत्कृष्टता आवश्यक हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार १३:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP