मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्यास अभावप्रति तामाङको कवितामार्फत व्यंग्य: ‘हातमा क्यास, बजारमा छैन ग्यास’

273
SHARES
ग्यास अभावप्रति तामाङको कवितामार्फत व्यंग्य: ‘हातमा क्यास, बजारमा छैन ग्यास’

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले मुलुकमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा ग्यासका लागि सर्वसाधारणले डिपो तथा पसलमा घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै कवितामार्फत सरकारप्रति व्यंग्य गरेकी हुन् ।

उनले ग्यास अभावका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको बताउँदै अहिले बजारमा पैसा भए पनि सहज रूपमा ग्यास पाउन नसकिने अवस्था रहेको उल्लेख गरिन् ।

‘ग्यास–ग्यास–ग्यास, भएन भने रोकिन्छ खाने गाँस । हातमा छ क्यास तर बजारमा छैन ग्यास,’ भन्दै उनले ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

उनले पहुँच भएका व्यक्तिहरूले एकैपटक धेरै सिलिन्डर लैजाने गरेको आरोप लगाउँदै सर्वसाधारण भने एउटा सिलिन्डरका लागि समेत घण्टौं लाइन बस्न बाध्य भएको बताइन् ।

सरकारले ग्यास पर्याप्त रहेको दाबी गरे पनि जनताले खाली सिलिन्डर बोकेर रातदिन सडकमा भौंतारिनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

विशेषगरी काठमाडौंका थानकोटलगायत क्षेत्रका नागरिक ग्यास खोज्दै बालाजु र टेकुसम्म पुग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै तामाङले यसबाट सर्वसाधारणले भोगिरहेको दुःखप्रति प्रश्न उठाइन् ।

उनले आफ्नो कवितामार्फत ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै स्थानीयस्तरमै ग्यास भर्ने व्यवस्था कहिले हुने हो भन्दै व्यंग्यात्मक प्रश्नसमेत गरेकी छन् ।

यस्तो छ कविताः
ग्यास–ग्यास–ग्यास,

भएन भने रोकिन्छ खाने गाँस

हातमा छ क्यास तर बजारमा छैन ग्यास

पहुँच हुनेवालाहरूले लैजान्छन् छानीछानी तीन वटासम्म भरिभरि सिलिन्डरका ग्यास

अनि हुँदैन त छिमेकीको घरमा हाहाकार, भोग र प्यास ?

सरकार भन्छ पुग्नेछ ग्यास

जनताहरू रातदिन खाली सिलिन्डर बोकी सडकमा छ उठिबास

थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु

यिनका मनको पीडा म कहाँ गई पोखू ?

लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो

हिमालफेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पधेँरो ?



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २६, मंगलवार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP