मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘सरकारले सुरक्षा अवस्था सामान्य पार्न महत्वपूर्ण सफलता हासिल गरेको छ’

2.8K
SHARES
‘सरकारले सुरक्षा अवस्था सामान्य पार्न महत्वपूर्ण सफलता हासिल गरेको छ’

भैरहवा । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन सरकार उल्लेखनीय रूपमा सफल भएको दाबी गरेका छन् । मंगलबार भैरहवामा गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा क्रमशः प्रभावकारी हुँदै गएको बताएका हुन् ।

उनका अनुसार जेनजी युवाले भदौ २३ र २४ मा प्रदर्शन गरेपछि सिर्जित विषम परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्न सरकार दृढतापूर्वक उभिएको थियो । “त्रासदीपूर्ण अवस्थालाई पार गर्न हामी सबैको मिहिनेतले निर्णायक भूमिका खेलेको छ,” उनले भने, “अहिले मुलुक सामान्य अवस्थामा फर्कनु सामूहिक प्रयासको उपलब्धि हो ।”

गृहमन्त्री अर्यालले सरकार आगामी फागुन २१ गतेको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न पूर्णतः केन्द्रित रहेको बताए । विभिन्न बहानामा चुनाव नभइरहने भन्ने धारणा सार्वजनिक भइरहे पनि सरकार काम र परिणाममार्फत त्यसको जवाफ दिइरहेको उनको भनाइ थियो ।

“हामी कुनै समूहको आश्रय लिएर होइन, विशिष्ट परिस्थितिको आवश्यकता अनुसार जिम्मेवारीसहित आएका हौँ,” मन्त्री अर्यालले भने, “सुशासन बलियो बनाउँदै निर्वाचित सरकारलाई सशक्त रूपमा सत्ता हस्तान्तरण गर्ने तयारीमा छौँ ।”

राजनीतिक दलहरूले उठाउँदै आएको लुटिएका हतियार र फरार कैदीबन्दीको चुनौतीबारे उनले विशेष अपरेसनमार्फत ठूलो मात्रामा हतियार फिर्ता ल्याइसकिएको र धेरै कैदी पुनः कारागार फर्काइएको जानकारी दिए ।

कार्यसम्पादनको ढिलासुस्ती, दोषारोपण संस्कृति र कमजोर जवाबदेहीताका कारण भविष्यमा दुर्घटना दोहोरिन सक्ने चेतावनी दिए । “अभिव्यक्ति दिने क्रममा यस्ता विषयमा गम्भीर भएर सोच्न आवश्यक छ,” उनले भने ।

गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पनि सुशासन र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । चुनाव निष्पक्ष र सुरक्षित बनाउन सबै लुटिएका हतियार फिर्ता हुनु र फरार कैदी पक्राउ पर्नु अपरिहार्य रहेको उनले जोड दिए ।

गृहमन्त्रालयका सहसचिव सुरेश पन्थीले सबै तहका सरकार अहिले विशेष परिस्थितिमा रहेको उल्लेख गर्दै मुख्य लक्ष्य निर्वाचन सुरक्षालाई प्राथमिकताका साथ कार्यान्वयन गर्नु रहेको बताए । प्रदेशस्तरीय सुरक्षा चुनौती पहिचान र समाधान रणनीति तयार गर्न गोष्ठी उपयोगी हुने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा गृहमन्त्रालयका सचिवदेखि सुरक्षा निकायका शीर्ष अधिकारीहरूको सहभागिता रहेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ९, मंगलवार ०६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP