मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्वार्को ओभरपास सञ्चालनमा, प्रधानमन्त्री ओलीबाट उद्घाटन

2.1K
SHARES
ग्वार्को ओभरपास सञ्चालनमा, प्रधानमन्त्री ओलीबाट उद्घाटन

काठमाडौं । ललितपुरको ग्वार्को चोकस्थित ओभरपास औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त संरचनाको शुक्रबार उद्घाटन गरेका छन् । उपत्यकाको व्यस्त चक्रपथमा सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको यो ओभरपास हाल सञ्चालनमा ल्याइएको हो ।

सातदोबाटो–कोटेश्वर सडक खण्डमा पर्ने ग्वार्को चोकमा निर्माण गरिएको ओभरपासबाट अब चक्रपथतर्फका सवारी साधन रोकिनु नपरी सिधा गुड्न सक्नेछन् । मंगलबजार–इमाडोल–लुभू रुटमा आवतजावत गर्ने सवारी भने ओभरपासको तल्लो भागबाट गुड्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जिम्मा पाएको ग्वार्को ओभरपास आयोजना २०७८ साल फागुन १२ गते निर्माण सम्झौतासहित सुरु गरिएको थियो । निर्माणको जिम्मेवारी आशिष–समानान्तर रेलिगेर जेभीले लिएको थियो ।

योजना सुरुवाती दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्माणमा ढिलाइ हुँदा म्याद दुईपटक थपिएको थियो । अन्ततः २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी काम टुंगो लगाइएको हो । आयोजनामा विभिन्न समस्या आउँदा केही समय निर्माण अवरुद्धसमेत भएको थियो ।

गुणस्तर केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार समयमै काम नसकिएको भन्दै ठेकेदार कम्पनीलाई एक करोड ४७ लाख रुपैयाँ हर्जाना तिराइएको छ । साथै, सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा बस्दा थप ढिलाइ भएको उनले जानकारी दिए ।

ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर छ । यसमध्ये ग्वार्कोदेखि लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लम्बाइको ग्याप रहेको छ । बीचको पुल खण्ड ३६.२ मिटर लामो छ। ओभरपासको चौडाइ १६.४ मिटर राखिएको छ, जसमा चार लेन सडक सञ्चालन हुने गरी निर्माण गरिएको हो ।

सुरुवाती लागत अनुमानअनुसार १७ करोड ६ लाख रुपैयाँमा निर्माण सकिने सम्झौता गरिएको भए पनि निर्माण ढिलाइका कारण अन्तिम लागत ३१ करोड ४६ लाख रुपैयाँ नाघेको छ । करिब १४ करोड थप खर्च भएको भण्डारीले जानकारी दिए ।

निर्माण कम्पनीले सम्झौता बमोजिम ओभरपासको संरचनामा पाँच वर्ष र डिजाइनमा १० वर्षसम्म कुनै समस्या देखिए त्यसको मर्मत जिम्मेवारी आफूले लिने सहमति गरेको केन्द्रले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ६, शुक्रबार ११:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP