मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विपत्तिका बेला घरघरमै सीमित भयो चेपाङको ‘छोनाम’ पर्व

429
SHARES
विपत्तिका बेला घरघरमै सीमित भयो चेपाङको ‘छोनाम’ पर्व

काठमाडौं । देश बाढीपहिरोको चपेटामा परिरहेका बेला चेपाङ समुदायले यस वर्ष आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व छोनाम (न्वागी) सामूहिक कार्यक्रम नगरी घरघरमै मनाएका छन् ।

भोटेकोशी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि उत्सवका कार्यक्रम र तडकभडक नगर्ने निर्णय गर्दै चेपाङ समुदायले परिवार तथा आफन्तबीच परम्परागत विधिअनुसार न्वागी मनाएको नेपाल चेपाङ सङ्घले जनाएको छ । विगतका वर्षमा भने विभिन्न स्थानमा सामूहिक रूपमा न्वागी मनाउने गरिएको थियो ।

सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार देशमा विपत्ति परेका कारण यस वर्ष औपचारिक तथा सामूहिक कार्यक्रम आयोजना गरिएन । ‘देशमा भएको घटनालाई ध्यानमा राख्दै तडकभडक नगरी आ–आफ्नै घरमा न्वागी मनायौँ,’ उनले भने ।

चेपाङ समुदायका लागि न्वागी केवल चाडपर्व नभई प्रकृति, भूमि र पितृप्रतिको सम्मानसँग जोडिएको महत्वपूर्ण परम्परा हो । हरेक वर्ष भदौ २२ गतेलाई न्वागीको मुख्य दिन मानिन्छ । यद्यपि, भदौ महिनाभरि आफ्नो अनुकूल समयमा यो पर्व मनाउने चलनसमेत रहेको छ ।

नयाँ अन्नबाली तथा फलफूल पाक्न थालेपछि त्यसलाई पहिलोपटक प्रकृति, भूमि, देवता र पितृलाई अर्पण गरेपछि मात्रै उपभोग गर्ने परम्परा न्वागीसँग जोडिएको छ । चेपाङ बस्तीमा उत्पादन हुने घैया धान, मकै, पिँडालु, गाभा, घिरौँला, निबुवा, कागतीलगायत नयाँ उब्जनी पूजामा चढाउने गरिन्छ ।

न्वागीको अघिल्लो रात चेपाङ समुदायका झाँक्री अर्थात् पान्देले फलाक्ने, जाग्राम बसेर पूजा गर्ने तथा पितृको स्मरण र आह्वान गर्ने परम्परा छ । त्यसपछि नयाँ उब्जनी भएका अन्न तथा फलफूल देवता र पितृलाई चढाइन्छ । पूजा सम्पन्न भएपछि पान्देले परिवार तथा समुदायका सदस्यलाई आशीर्वाद दिने चलन छ ।

सङ्घका महासचिव सन्तबहादुर चेपाङले पनि यस वर्ष सामूहिक कार्यक्रम नभए पनि पर्वको धार्मिक तथा सांस्कृतिक विधिलाई निरन्तरता दिइएको बताए । उनका अनुसार आफन्तसँग भेटघाट गरी घरमै परम्परागत रूपमा न्वागी मनाइएको छ ।

सङ्घकी सदस्य दीपा चेपाङले बाढीका कारण यस वर्षका लागि तय गरिएको सामूहिक कार्यक्रम सञ्चालन गर्न नसकिएको बताइन् । उनका अनुसार समुदायका परिवारले आ–आफ्नो घरमा विधिपूर्वक पूजा गरी न्वागी मनाएका छन् ।

इच्छाकामना गाउँपालिका–२ मायाटारका शिक्षक पदमबहादुर प्रजाले पनि विपत्तिका कारण यस वर्ष विगतजस्तो उत्साहका साथ पर्व मनाउने अवस्था नरहेको बताए । उनका अनुसार न्वागी चेपाङ समुदायको पहिचानसँग जोडिएको मुख्य पर्व भएकाले यसको निरन्तरता आवश्यक छ ।

चेपाङ समुदायलाई प्रकृति र धर्तीपूजक समुदायका रूपमा चिनिन्छ । नयाँ अन्न तथा फलफूल पाकेपछि भूमि र पितृलाई चढाएर मात्रै खाने परम्पराले उनीहरूको प्रकृतिसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्छ ।

‘भदौको बिस बाइस’ भन्ने परम्पराअनुसार भदौ २२ लाई न्वागीको विशेष दिनका रूपमा लिने गरिन्छ । तर, पछिल्लो समय नयाँ पुस्तामा पर्वको महत्व घट्दै गएको तथा धर्म परिवर्तनका कारण मौलिक धर्म, संस्कृति र परम्परा संरक्षणमा चुनौती थपिएको समुदायका अगुवाहरूको भनाइ छ ।

उनीहरूले चेपाङ समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि समुदायभित्रै एकता आवश्यक रहेको बताउँदै नयाँ पुस्तालाई न्वागीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २३, मंगलवार ०७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP