मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षाले देशभरका सडक प्रभावित, विभिन्न स्थानमा यातायात ठप्प

1.3K
SHARES
वर्षाले देशभरका सडक प्रभावित, विभिन्न स्थानमा यातायात ठप्प

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकखण्डमा बाढी, पहिरो र सडक भासिने समस्या देखिएपछि यातायात प्रभावित भएको छ । केही जोखिमयुक्त सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजे जारी गरेको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि राति ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन चलाउन रोक लगाइएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा इकु पहिरो तथा लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि अवरुद्ध भएको छ । यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक बन्द भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडकखण्ड पनि ठप्प भएको छ ।

त्यस्तै, रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खसेपछि घोराही–थवाङ–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुबाट करिब एक सय मिटर उत्तरमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण सडकमा पहिरो तथा बाढीको जोखिम अझै कायम रहेकाले यात्रुलाई अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म रोक लगाइएका सडकमा सवारीसाधन सञ्चालन नगर्नसमेत सम्बन्धित निकायले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ६, शनिबार ००:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP