मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोटाङमा विवाह भोजपछि सामूहिक बिरामी

1.5K
SHARES
खोटाङमा विवाह भोजपछि सामूहिक बिरामी

खोटाङ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि ठूलो संख्यामा स्थानीयवासी तथा आफन्त बिरामी परेका छन् । माघ २१ गते आयोजित विवाह भोजमा सहभागी भएकामध्ये बेहुला–बेहुलीसहित करिब डेढ सय जना बिरामी परेको जनाइएको छ । उपचारपछि धेरैजसो बिरामी घर फर्किए पनि नयाँ बिरामी थपिने क्रम भने अझै जारी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष अरुणादेवी राईका अनुसार माघ २५ गते मात्र ४५ जना नयाँ बिरामी थपिएका छन् । केही बिरामी उपचारपछि निको भइसके पनि फेरि स्वास्थ्य समस्या देखिएर उपचारका लागि आउने क्रम बढेको छ । बिरामीको संख्या अत्यधिक भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङस्थित दिलबहादुर राईको घरमा अस्थायी उपचार शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाले माघ २३ गतेदेखि शिविर स्थापना गरी स्थानीयमै उपचारको व्यवस्था मिलाएको हो ।

शिविरमा बिरामी राख्नका लागि पाल टाँगेर अस्थायी संरचना बनाइएको छ । घरका कोठा, सिकुवा, आँगन तथा पेटीमा समेत ओछ्यान मिलाएर बिरामीको उपचार भइरहेको अध्यक्ष राईले जानकारी दिइन् । स्वास्थ्यकर्मीको टोलीले निरन्तर निगरानी र उपचार गरिरहेको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएका सात जनालाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा राखेर उपचार भइरहेको छ । गाउँपालिकाको एम्बुलेन्स, स्ट्रेचर, इलाका प्रहरी कार्यालय चिसापानी र स्वास्थ्य कार्यालय खोटाङको सवारीसाधनमार्फत बिरामीलाई शिविरसम्म पुर्‍याउने काम भइरहेको छ । उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरू परिचालित छन् ।

भोज खाएका स्थानीयहरू माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए । भोज खाएको करिब १२ घण्टापछि ज्वरो आउने, शरीर काम्ने र झाडापखाला लाग्ने जस्ता लक्षण देखिएको बताइएको छ । बिरामीको चाप बढेपछि स्वास्थ्य कार्यालयबाट थप औषधि र स्वास्थ्यकर्मीसमेत परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । उनका अनुसार नयाँ बिरामी थपिए पनि अवस्था नियन्त्रणउन्मुख रहेको छ ।

गाउँपालिकाका अनुसार भोजमा सहभागी अधिकांश स्थानीय बिरामी परेका छन् । भोज खाएर फर्किएका उदयपुर, काठमाडौंलगायतका पाहुनामा पनि समान समस्या देखिएको छ । प्रारम्भिक रूपमा ‘फुड पोइजनिङ’ भएको अनुमान गरिएको भए पनि वास्तविक कारण पत्ता लगाउन प्रदेशबाट नमुना संकलनका लागि टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिए ।

घटनाबारे यकिन तथ्यांक संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ । स्वास्थ्यकर्मीले सरसफाइमा ध्यान दिन, उमालेको पानी मात्र पिउन र समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा आउन स्थानीयलाई आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २५, आईतवार ०८:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP