मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साहित्य (मातृभाषा) शङ्खला २६: ‘सिरुवा–जातिरि’ सार्वजनिक

3.4K
SHARES
साहित्य (मातृभाषा) शङ्खला २६: ‘सिरुवा–जातिरि’ सार्वजनिक

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजना हुने ‘मातृभाषा सहित्य शृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रमको २६औँ शृङ्खला सम्पन्न भएको छ । महिनाको अन्तिम शुक्रबार हुने कार्यक्रम जेन–जी आन्दोलनका कारण बुधबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर प्रकाशन गरेको बहुभाषिक पत्रिका ‘सिरुवा–जातिरि’ सार्वजनिक गरिएको थियो । ‘सिरूवा जातिरि’ सहित १० वटा पत्रिका प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागबाट प्रकाशित भइसकेका छन् । यसबाट नेपाली मातृभाषाको संरक्षण र विकासमा ऐतिहासिक कार्य भएको देखिन्छ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर २६औँ मातृभाषा साहित्य शृङ्खलाको समुद्घाटन गरेका थिए । कुलपति राईले ‘सिरूवा– जातिरि’को सार्वजनिक गर्दै अहिले मातृभाषामा १० वटा पत्रिका प्रकाशित भइसकेको बताए । यी पत्रिकामा ४६ वटा मातृभाषाका साहित्यिक लेख रचना, विश्लेषण र इतिहासलाई समेटिएको राईले बताए ।

प्रज्ञा–प्रतिष्ठानको ६८ वर्षको इतिहासमा अहिले मातृभाषाको पुनर्जागरण भएको उल्लेख गर्दै कुलपति राईले आफ्नो कार्यकालको अढाइ वर्षमा मातृभाषा साहित्यलाई प्राज्ञिक सत्तासँग जोड्दै अघि बढ्न सकेकामा आफूलाई गर्वबोध भएको चर्चा गरे । जेनजी विद्रोहको प्रभावले नेपाली समाज, संस्कृति र राजनीतिलाई नयाँ ठाउँमा ल्याएको बताउँदै उनले भने, “अब जेन्जी सहिदहरूको अवमूल्यन गर्ने छुट कसैलाई छैन । यसले साहित्य र संस्कृतिमा पारेको छ ।”

कार्यक्रममा काठमाडौं उपत्यका धिमाल जातीय विकास केन्द्रले कुलपति भूपाल राईलाई सम्मान गरेको थियो । त्यस्तै सम्पादक÷अभियन्ता समूहबाट कुलपति राई र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई मायाको चिनो प्रदान गरेको थियो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा लोपोन्मुख जाति र तिनका मातृभाषाको विकास गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै मातृभाषाको जगेर्ना गर्न सबैले हातेमालो गर्दै सहकार्य गरी अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले ‘मोरङ, झापा र सुनसरीलगायतका विभिन्न स्थानमा बोलिँदै आएका लोपोन्मुख अवस्थामा रहेका १० मातृभाषालाई समेटेर साझा पत्रिका सिरूवा–जातिरि’ प्रकाशनले नयाँ उत्साह थपेको बताए । उनले जेन–जी (जेड) पुस्ता र साहित्यको चर्चा गर्दै ‘एक्स’को अनुभव र ‘वाइ’को तागत र ‘जेनजी’को जोशलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई मातृभाषाको सौन्दर्यबोध गराउनुका साथै पुस्तान्तरण गर्न सके मात्र मातृभाषाको संरक्षण र संवद्र्धनमा बल पुग्ने बताए । उनले भने, “आगोलाई मुन्दुमले जीवनको ताप, ऊर्जा र न्यानो हो भनेर सिकाउँछ । तर त्यही आगोलाई ‘फायर’ मात्रै भनेर सिकाइयो भने त सिंहदरबार पनि जल्ने रहेछ ।”

कुनै पनि भाषा, ज्ञान, संस्कृतिलाई नयाँ पुस्ता जेनजीसम्म पुस्तान्तरण गर्दै अघि बढ्न पनि लोपोन्मुख आदिवासी मातृभाषामा पत्रपत्रिका निकाल्नुपरेको चर्चा मुकारुङले गरेका थिए ।

कार्यक्रममा डा. विष्णुकुमार सिङ्जालीले ‘मगर ढुट (भाषा) को प्रयोग र साहित्य विकासको अवस्था’ तथा तेजेन्द्र ताजपुरियाले ‘ताजपुरिया भाषा र लोकसाहित्यको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि सहभागीका तर्फबाट अमृत योन्जन, प्रा. श्रीराम उपाध्याय, पूर्णबहादुर घर्तिमगर र अञ्जु राजवंशीले आ–आफ्नो जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यतिर मातृभाषी कविद्वारा मातृभाषा कविता वाचन गरिएको थियो । एलिना राईले वाम्बुले राई भाषा, कर्ण दयाल सोराडीले बैतडेली भाषा र डेण्डी शेर्पाले शेर्पा भाषामा कविता वाचन गरेका थिए ।

शोभा सुनुवारले सञ्चालन गरेको कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका अध्यक्ष दानबहादुर धिमालले शुभकामना मन्तव्य दिएका थिए भने वेचन उरावले सम्पादनसम्बन्धी अनुभव सुनाएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार ०७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP