मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो घरमै नजरबन्द, अमेरिका र ट्रम्पको चासो

1.8K
SHARES
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो घरमै नजरबन्द, अमेरिका र ट्रम्पको चासो

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई नजरबन्दमा राख्न आदेश दिएको छ । सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संस्थागत ‘कू’ प्रयास गरेको अभियोगमा उनलाई यस्तो कदम चालिएको हो ।

अदालतका न्यायाधीश एलेक्जान्द्रे डी मोरेसले सोमबार बोल्सोनारोले तोकिएका प्रतिबन्ध उल्लंघन गरेको भन्दै उनलाई ब्रासिलियास्थित निजी निवासमा निगरानीमा राख्न आदेश दिए । बोल्सोनारोको मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि सर्वोच्च अदालतले उनलाई सामाजिक सञ्जाल प्रयोग गर्न, विदेशी अधिकारी र दूतावाससँग सम्पर्क गर्न निषेध गरेको थियो । नयाँ आदेशपछि बोल्सोनारो अब वकिलबाहेक अरूसँग अदालतको स्वीकृतिबिना भेटघाट गर्न नपाउनेछन् ।

यद्यपि बोल्सोनारोका कानुनी प्रतिनिधिहरूले अदालतका कुनै पनि सर्त उल्लंघन नगरेको दाबी गरेका छन् । साथै, नजरबन्द आदेशविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

यता, अमेरिकी स्टेट डिपार्टमेन्टले बोल्सोनारोमाथि लागू गरिएको नजरबन्दप्रति असहमति जनाएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समेत बोल्सोनारोसँगको निकटता दर्शाउँदै उनको पक्षमा स्पष्ट अभिव्यक्ति दिएका छन् । ट्रम्पले ब्राजिलका वर्तमान राष्ट्रपति लुला दा सिल्भालाई पत्र लेखेर बोल्सोनारोमाथिको व्यवहारलाई ‘अन्तर्राष्ट्रिय अपमान’ भनेका थिए । उनले चेतावनीस्वरूप अगस्ट १ देखि ५० प्रतिशत भन्सार दर लगाउने बताएका थिए ।

बोल्सोनारोले सन् २०२२ मा भएको राष्ट्रपतीय निर्वाचनमा हार स्वीकारेका थिएनन् । उनले इलेक्ट्रोनिक भोटिङ मेसिनमा गडबडी भएको दाबी गर्दै चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार, ब्राजिलले चीनपछि अमेरिका नै दोस्रो ठूलो व्यापार साझेदारका रूपमा रहेको छ । ट्रम्पले बोल्सोनारोमाथिका अभियोगहरू फिर्ता गरिए भन्सार दर पनि हटाउने संकेत दिएका छन् ।

सर्वोच्च अदालतले यदि बोल्सोनारोमाथिको अभियोगलाई पुष्टि गर्यो भने उनलाई कैद सजाय हुने सम्भावना बढेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार ०६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP