मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मानव बेचबिखनमुक्त समाज निर्माणमा सबै तहका सरकारबीच सहकार्य आवश्यक: प्रधानमन्त्री शाह

325
SHARES
मानव बेचबिखनमुक्त समाज निर्माणमा सबै तहका सरकारबीच सहकार्य आवश्यक: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्क भएको बताएका हुन् । उनले यो अपराध संगठित स्वरूपमा विश्वभर फैलिँदै गएको उल्लेख गरेका छन् ।

‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ यस वर्ष राष्ट्रिय दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन भइरहेको बताए ।

मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नीतिगत र संस्थागत सुधार गर्दै आएको उनको भनाइ छ । यसका लागि तीनै तहका सरकार तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्यमा विभिन्न पहल भइरहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल बनाउने गरी संशोधन विधेयक संसदमा दर्ता गरिएको छ । उक्त विधेयकले मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको मानव अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

संघीय संरचनाअनुरूप विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई परिमार्जन गर्ने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री शाहले बताएका छन् ।

उनले मानव बेचबिखनविरुद्धको अभियानमा संघीय सरकारसँगै प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

प्रधानमन्त्री शाहले साझा पहल र संयुक्त प्रयासबाट मात्रै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सकिने बताएका छन् । साथै, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद दिँदै सरकारको प्रतिबद्धतामा साथ र ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २०, शनिबार ०६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP