मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेलबर्नमा नेपाली नर्सको दुःखद निधन : कंगारु बचाउने क्रममा दुर्घटना

2K
SHARES
मेलबर्नमा नेपाली नर्सको दुःखद निधन : कंगारु बचाउने क्रममा दुर्घटना

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा कंगारु बचाउने क्रममा दुई नेपाली नर्सको निधन भएको छ ।

दुर्घटना बिहीबार राति करिब ७ः३० बजे ह्युम फ्रीवेमाथि भएको हो । निधन हुनेमा बेभरिज निवासी ३० वर्षीया सरला खड्का र थमास्टाउनकी ३० वर्षीया अरिजा सुवाल रहेका छन् ।

मेलबर्नकै अल्फ्रेड अस्पतालमा कार्यरत सरला र अरिजा, लामो समयदेखि साथी रहेका थिए । उनीहरू सुवालको ३०औँ जन्मदिन मनाउन जाँदै गर्दा गाडी कंगारुसँग ठोक्किएको थियो ।

दुवै जना कंगारुलाई उद्धार गर्न गाडी रोकेर सडकमा उत्रिएका बेला अर्को कार चिप्लिँदै तिव्र गतिमा आएर ठोक्किँदा उनीहरूको ज्यान गएको भिक्टोरिया प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमै सरलाको मृत्यु भएको थियो भने अरिजालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइए पनि उपचारका क्रममा निधन भयो । दुर्घटनामा संलग्न कार चालकले घटनास्थलमै रोकेर प्रहरीलाई सहयोग गरेको पुष्टि गरिएको छ ।

भिक्टोरिया प्रहरीका सहायक आयुक्त ग्लेन वेइयरले यो घटनालाई ‘सर्वत्र दुःखद’ भन्दै चेतावनी दिए । उनले भने, “तिव्र गतिमा चल्ने अँध्यारो सडकमा गाडी छाडेर पैदल उत्रनु अत्यन्त खतरनाक हुन्छ । विशेष गरी वर्षातमा जोखिम झन् बढ्छ ।”

दुर्घटनाको केही घण्टा अघि मात्र सरलाले अरिजासँगको १४ वर्ष लामो मित्रतालाई सम्झिँदै जन्मदिनको शुभकामना फेसबुकमा पोष्ट गरेकी थिइन् । उनले अरिजालाई ‘दिदीसरह साथी’ र ‘जीवनभरको गोप्यसाझेदार’ भन्दै हार्दिक भाव व्यक्त गरेकी थिइन् ।

यस घटनाले मेलबर्नस्थित नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ । स्थानीय समुदायका अनुसार दुवै जना सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय सहभागी हुन्थे । अब उनीहरूको पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया अघि बढ्ने भएको छ ।

वन्यजन्तु उद्धार संस्थाले यस्ता घटनामा स्वयं उद्धार गर्नुभन्दा सम्बन्धित उद्धार समूहलाई सम्पर्क गर्न आग्रह गरेको छ । “सडकछेउमा घाइते जनावर देख्दा मानिसहरू भावुक हुन्छन् । तर व्यस्त सडकमा रोकिएर सहयोग गर्न खोज्नु प्राणघातक हुन सक्छ,” संस्थाले चेतावनी दिएको छ ।

भिक्टोरिया प्रहरीले यस वर्ष मात्रै २०३ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेको जनाएको छ, जुन गत वर्षको सोही अवधिभन्दा ११ ले बढी हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP