मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिरोसिमा र नागासाकी सम्झँदै जापान, आणविक हतियारको पीडादायी इतिहास पुनः उजागर

1.3K
SHARES
हिरोसिमा र नागासाकी सम्झँदै जापान, आणविक हतियारको पीडादायी इतिहास पुनः उजागर

काठमाडौं । ८० वर्षअघि, सन् १९४५ को अगस्ट ६ र ९ — जापानका लागि इतिहासको सबैभन्दा कालो दिन । अमेरिकाले ६ अगस्टमा हिरोसिमामा ‘लिटल ब्वाई’ नामको बी–२९ बम खसालेपछि ९ अगस्टमा नागासाकीमा अर्को आणविक बमले जनधनको भीषण क्षति गर्‍यो । ती दुई बम विस्फोटमा एक लाख १० हजारभन्दा बढीको ज्यान गयो । लाखौं घाइते र दीर्घकालीन विकिरण रोगको चपेटामा परे ।

त्यस घटनाले दोस्रो विश्वयुद्धको पटाक्षेप त गरायो, तर जापानी जनमानसमा गहिरो पीडा छाड्यो— जसको स्मरण अहिले पनि भइरहेको छ ।

पीडाका स्मरणमा जापानीहरू
अगस्ट ६ का दिन हिरोसिमाको स्मृति पार्कमा हजारौं नागरिक, पीडित परिवार, अधिकारी र अन्तर्राष्ट्रिय शान्तिकर्मी भेला भए । उनीहरूले मृतकहरूको समाधिमा पुगेर श्रद्धाञ्जली अर्पण गरे । जापानी प्रधानमन्त्री सिगेरु इसिबाले वर्तमान विश्व राजनीति र आणविक होडप्रति चिन्ता व्यक्त गर्दै भने, “संसार अझै पनि आणविक शक्तिको डरले विभाजित छ । यो अत्यन्तै दुःखद अवस्था हो ।”

नोबेल शान्ति पुरस्कार विजेता निहोन हादयन्कोले आणविक निःशस्त्रीकरणको अभियानलाई अझ सशक्त बनाउँदै विश्वभर चेतना फैलाउने प्रण गरे । उनले भने, “आणविक हतियार भएका देशले नै कहिल्यै नबिर्सिने पीडा बुझ्न आवश्यक छ ।”

आणविक त्रास पुनः बढ्दै
रुसले युक्रेनमाथि सन् २०२२ मा गरेको आक्रमणपछि आणविक हतियार प्रयोगको सम्भावनाको त्रास पुनः बढेको छ । अमेरिकाले इरानको आणविक केन्द्रलाई लक्षित गर्दै गत महिना हमला गरेपछि यस्तो डर थप गहिरिएको हो ।

भारत र पाकिस्तानबीचको दीर्घकालीन काश्मीर विवादले पनि क्षेत्रीय अस्थिरता र आणविक खतरा सतहमा ल्याएको छ । हिरोसिमामा खसालिएको बम १५ किलो टन शक्तिशाली थियो, तर आज अमेरिकासँग १।२ मेगाटन क्षमताका हतियार छन्— जुन हिरोसिमा बमको तुलनामा झन्डै ८० गुणा शक्तिशाली हो । यस्ता हतियारले कुनै मेगासहरमा लाखौंको जीवन एकछिनमै सखाप पार्न सक्छ ।

को–कोसँग छन् आणविक हतियारर?
स्टकहोमस्थित अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थाका अनुसार अहिले ९ देश आणविक हतियारले सुसज्जित छन्— अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, उत्तर कोरिया, भारत, पाकिस्तान र इजरायल ।

अमेरिका र रुससँग विश्वको ९० प्रतिशत आणविक हतियार रहेको छ । यी दुई राष्ट्र लगातार नयाँ प्रविधिसहित हतियार विकासमा लागिपरेका छन् । त्यसैबीच उत्तर कोरिया भने सबैभन्दा ठूलो चुनौतीको रूपमा देखा परेको छ । राष्ट्रपति किम जोङ उनकी बहिनी किम जो जङले खुलेआम अमेरिकासँग सम्झौता नगर्ने बताएकी छन् ।

संसारकै धनी आणविक भण्डार
२०२५ को प्रारम्भमा संकलित तथ्यांक अनुसार, विश्वमा जम्मा १२,२४१ वारहेड (आणविक हतियार) छन् ।

रुससँगः ५,४४९
अमेरिकासँगः ५,२७७
चीन, फ्रान्स, बेलायत, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल क्रमशः पछाडि छन् ।

भारत–पाकिस्तानः दुई छिमेकी, एउटै त्रास
गत मे महिनामा काश्मीर सीमामा चारदिने झडपले विश्वलाई एकपटक फेरि डरलाग्दो सम्भावनाको सामना गरायो । युद्ध विरामले खतरालाई रोकियो, तर दुबै राष्ट्र आणविक हतियारसहितको शक्ति भएकाले त्यस युद्धको परिणाम अकल्पनीय हुन सक्ने बताइएको थियो ।

भारतले आफूले पहिलो प्रहार नगर्ने (No First Use) नीति लिएको छ । भारतीय आणविक कार्यक्रमको सुरुवात पण्डित जवाहरलाल नेहरूको पालादेखि भएको हो ।

पाकिस्तानले भने आफ्नो नीति सार्वजनिक नगरेको हुँदा ‘कुनै पनि बेला प्रयोग गर्न सक्छ’ भन्ने आशंका बढ्दो छ । यद्यपि २०२४ को मे महिनामा पाकिस्तानी आणविक कमान्डका सल्लाहकार किडवाईले पाकिस्तानको पनि ल्य ँष्चकत ग्कभ नीति रहेको बताएका थिए ।

जापानको पीडाः विश्वका लागि चेतावनी
हिरोसिमा र नागासाकीमा भएको विनाश आज पनि विश्व इतिहासको सबैभन्दा पीडादायी घाउ हो । यस्तै घटनाले मानवतालाई चेतावनी दिन्छ— कि आणविक शक्ति अन्ततः विनाशका कारण बन्न सक्छ ।

अगस्टले फेरि स्मरण गराइरहेको छः युद्ध रोकौं, शान्ति रोजौं । हतियार होइन, मानवता जिउँदो राखौं ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २२, बिहीबार ०५:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP