मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गजामा सहायता खोज्दै भेला भएका सर्वसाधारणमाथि गोली वर्षा, ६७ जनाको ज्यान गयो

1.4K
SHARES
गजामा सहायता खोज्दै भेला भएका सर्वसाधारणमाथि गोली वर्षा, ६७ जनाको ज्यान गयो

काठमाडौं । मानवीय सहायता प्राप्त गर्न जम्मा भएका सर्वसाधारणमाथि इजरायली सेनाले अन्धाधुन्ध गोली प्रहार गर्दा गाजाको उत्तर क्षेत्रमा कम्तीमा ६७ जनाको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार घटेको घटनालाई मानवीय सहायता वितरणको क्रममा हालसम्मकै सबैभन्दा ठूलो जनधनको क्षति भएको जनाएको छ ।

गाजामा पछिल्ला दिनहरू यता भोकमरीले भयावह अवस्था सिर्जना गरिरहेको छ । पर्याप्त मात्रामा सहायता सामग्री नपुगेका कारण हजारौं नागरिक भोकको चपेटामा छन् ।

‘हामीले सुकेको शरीरमा हड्डी मात्र बाँकी रहेका सयौं मानिसहरूलाई मृत्युको नजिक देखिरहेका छौँ,’ गाजाको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

सहायता ट्रकलाई घेरेपछि सेनाको गोली
घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीहरूका अनुसार जब मानवीय सहायता बोकेको ट्रक देखा पर्छ, मानिसहरू हतारिँदै त्यसलाई घेर्न पुग्छन् । भिड अनियन्त्रित बन्न थालेपछि इजरायली सेनाले गोली चलाउने गरेको समाचारमा जनाइएको छ ।

आइतबारको घटनाबाहेक शनिबार मात्रै सहायता केन्द्र नजिकै भएको अर्को आक्रमणमा ३६ जनाको ज्यान गएको थियो । त्यसैगरी, आइतबार गाजाको अर्को क्षेत्रमा सहायताका लागि जम्मा भएका ६ जना पनि इजरायली सेनाको गोलीबाट मारिएको रिपोर्ट छ ।

इजरायली सेनाको गोली प्रहारका कारण पछिल्ला तीन दिनमा कूल ९० जनाको मृत्यु भएको बताइएको छ ।

इसराइलको आरोप अस्वीकार
इजरायली सेनाले भने गाजाको स्वास्थ्य मन्त्रालयले दिएको मृतक संख्या अतिरञ्जित भएको र घटनाबारे गरिएको दाबीहरू सत्य नभएको बताएको छ । तर, अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरू र सहायता निकायहरूले भने गाजामा भइरहेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै आएका छन् ।

बालबालिकामा भयावह प्रभाव
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता ७१ बालबालिकाले भोककै कारण ज्यान गुमाइसकेका छन् । साथै करिब ६० हजार बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।

आइतबार मात्र भोकका कारण १८ जनाको मृत्यु भएको विवरण छ ।

सहायता रोकिँदा थप संकट
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनआरडब्लूएले तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको बताउँदै इसराइललाई सहायता प्रवेश अनुमति दिन आग्रह गरेको छ । ‘हामीसँग खाद्यान्न छ, तर वितरण गर्न सकिने वातावरण छैन,’ एजेन्सीले रोयटर्समार्फत भनेको छ।

इसराइलले भने सहायता प्रवेशका विषयलाई संवेदनशील रूपमा लिँदै आएको र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वयमा काम भइरहेको दाबी गरेको छ ।

यता, कतारमा इसराइल र हमासबीच युद्धविरामका लागि अप्रत्यक्ष वार्ता जारी रहेको छ । तर, हमासले गाजामा भोकमरीको चपेटामा परेकाहरूको हत्या जारी रहे युद्धविराम प्रक्रिया नै धरापमा पर्ने चेतावनी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार ०५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP