मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ट्रम्पको ‘बिग ब्युटिफुलु विधेयक पारित, के छन् यसका विशेषता

2.1K
SHARES
ट्रम्पको ‘बिग ब्युटिफुलु विधेयक पारित, के छन् यसका विशेषता

काठमाडौं । अमेरिकी कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेर घरेलु मुद्दामा उनलाई निकै महत्त्वपूर्ण जित दिलाएको छ ।

क्यापिटल हिलमा भएको रस्साकस्सीपश्चात् तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई बिहीवार पारित गर्‍यो । उक्त विधेयकको पक्षमा २१८ र विपक्षमा २१४ मत परेको थियो ।

मंगलबार माथिल्लो सदन सिनेटले जम्मा १ मतको अन्तरले उक्त विधेयक पारित गरेको थियो ।

ट्रम्पले रिपब्लिकनहरूको बहुमत भएको कङ्ग्रेसलाई जुलाई ४ तारिखभित्र सो विधेयक पारित गरेर अन्तिम अनुमोदनका निम्ति उनीकहाँ पठाइसक्न समयसीमा दिएका थिए ।

कसरी भयो विधेयक पारित?
कङ्ग्रेसले बजेट कार्यालयको अनुमानमा सो विधेयकले आगामी १० वर्षमा सङ्घीय वित्तीय घाटामा ३३ खर्ब डलर थप्ने छ भने दशौँ लाख मानिसको स्वास्थ्य बिमा गुम्ने छ— तर ह्वाइट हाउसले ती अनुमानलाई अस्वीकार गरेको छ।

बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नयाँ कानुनले देशलाई ‘रकेट यानमा परिणत गर्ने’ बताए । ‘देशका निम्ति यो महान् कानुन हुने छ,’ उनले भने ।

जुलाई ४ को स्वतन्त्रता दिवसको समारोहका बेला विधेयकमा उनले हस्ताक्षर गर्ने ठानिएको छ । त्यसपछि सो विधेयक औपचारिक कानुन बन्ने छ ।

कानुन पास भएपछि रिपब्लिकन सभामुख माइक जोन्सनले उनको पार्टीभित्र सबैलाई मनाउन ुविश्वासु नै मुख्य कुरा भएको बताए ।

उनले मनाउन परेका रिपब्लिकन सांसदहरूमा टेक्ससका चिप रोय पनि थिए जसले केही दिनअघि सिनेटले सो विधेयक पास गरिसक्दा पनि आफ्नो विमति राखिरहेका थिए । तर मत हाल्ने बेला उनले मन बदले ।

सिनेटले पास गरेको विधेयकमा केही फेरबदल नगरिए पनि रोयले भने, ‘मलाई लाग्छ महत्त्वपूर्ण विषयमा हामीले राम्रो परिणाम हासिल गर्‍यौँ ।’

केही रिपब्लिकन सांसदहरूले सिनेटले पारित गरेको विधेयकमा विरोध जनाए पनि आखिरमा तल्लो सदनका केवल दुई जना रिपब्लिकन सांसद (थोमस मासी र ब्रायन फिजप्याट्रिक) ले मात्र त्यसको विरुद्ध मत हाले ।

तल्लो सदनमा विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख नेता हकिम जेफ्रिजले उक्त सदनको इतिहासमै सबभन्दा लामो भाषण गरेर विधेयक पारित गर्नमा ढिलाइ गरिदिएका थिए ।

ुम्याजिक मिनटु भनिने उक्त परम्पराअन्तर्गतको सम्बोधनमा पार्टी नेताहरूलाई जति पनि समय बोल्न दिइन्छ । जेफ्रिजले ८ घण्टा ४५ मिनेट बोलेका थिए ।

अमेरिकी जनताका निम्ति ‘चाहिँदो समय’ लिने वाचा गर्दै उनले उक्त कानुनले गरिब अमेरिकीहरूलाई पर्ने प्रभावको भर्त्सना गरे ।

के छ विधेयकको विशेषता?
उक्त विधेयकमा खाद्य सहयोग तथा स्वास्थ्योपचारमा दिइने अनुदान अनि स्वच्छ ऊर्जाका परियोजनाहरूलाई दिइने अनुदान कटौती गरेर खर्च बचत गर्ने उल्लेख छ ।

साथै त्यसले चुनावताका ट्रम्पले गरेका दुई वटा मुख्य वाचा पनि पूरा गर्ने छ — उनले सन् २०१७ मा गरेका कर कटौतीहरूलाई स्थायी स्वरूप दिने अनि टिप्स, ओभरटाइम र सोसल सेक्युरिटी प्राप्तिकर्तामा लाग्ने कर हटाउने — जसको मूल्य १० वर्षमा ४५ खर्ब डलर हुने अनुमान छ ।

त्यस्तै सिमाना सुरक्षा, हिरासत केन्द्र तथा आप्रवासन कानुन कार्यान्वयन अधिकारीहरूमा १५० अर्ब डलर खर्च गरिने छ । अर्को १५० अर्ब डलर ट्रम्पले अघि सारेको ुगोल्ड डोमु क्षेप्यास्त्र प्रतिरक्षा कार्यक्रम लगायतका सैन्य खर्चमा लगाइने छ ।

सदनमा मतदान हुँदा प्रक्रियागत अवरोधहरू गर्ने कोसिस गर्दै डेमोक्र्याटहरूले विधेयकप्रति विरोध जनाए ।

उनीहरूका अनुसार उक्त विधेयकले दशौँ लाख अमेरिकीहरूसँग स्वास्थ्योपचार तथा खाद्य सहयोग खोसेर धनीहरूलाई करमा छूट दिलाउने छ ।

नर्थ क्यारलाइनाकी डिबोरा रसले भनिन्, ‘धिक्कार छ तिनलाई जसले थोरैको हितका निम्ति धेरैलाई हानि पुर्‍याउन मत दिए ।’

कङ्ग्रेसको दुवै सदनमा ट्रम्पको रिपब्लिकन दल बहुमतमा छ तर उक्त दलभित्रै रहेका विभिन्न गुटहरूमाझ सो विधेयकमा निहित कतिपय नीतिहरूमा भिन्नता थियो । (बीबीसी)



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार ०६:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP