मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उँधौली पर्व आज देशभर मनाइँदै, किरात समुदायको प्रकृति–कृतज्ञता दिवस

2.1K
SHARES
उँधौली पर्व आज देशभर मनाइँदै, किरात समुदायको प्रकृति–कृतज्ञता दिवस

काठमान्डु । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै उँधौली पर्व उत्साहपूर्वक मनाइरहेका छन् । किरात संस्कृति तथा पहिचानसँग सम्बन्धित प्रमुख पर्व मानिने उँधौली आज देशभर पूजा, नृत्य र सांस्कृतिक कार्यक्रमसँगै मनाइँदै छ ।

किरात समुदायभित्रका जातिहरूले यसै पर्वलाई आफ्नै भाषामा फरक नामले पुकार्छन् । सुनुवारले ‘फोलशाँदर’, याक्खा समुदायले ‘चासुवा’, राईले ‘सकेला’ र लिम्बूहरूले ‘चासोक तङ्नाम’का रूपमा यो पर्व आजको दिन विशेष विधिसहित मनाउँदै छन् । लिम्बू समुदायले यो पर्व तीन दिनअघि नै सुरु गरेका थिए ।

किरात संस्कृतिका शोधकर्ताका अनुसार नाम फरक भए पनि यी सबै पर्वको मूल सार उँधौली नै हो । बाली पाकेपछि इष्टदेवतालाई अर्पण गर्ने, खानेकुरा पवित्रता सहित सुरु गर्ने र पितृलाई सम्झने परम्परा नै उँधौलीको मूल उद्देश्य हो । बाली लगाउने समय भने किरात समुदायले ‘उँभौली’ पर्व मनाउने चलन छ ।

बिहानैदेखि किरात पुरुष–महिला जातीय भेषभूषामा सुसज्जित भएर ढोल, च्याबु्रङ आदिका धुनमा नाच्दै पूजा स्थलतर्फजाने गर्छन् । संस्कार एउटै भए पनि भाषा तथा परम्पराअनुसार पर्वको नाम फरक हुनु किरात संस्कृतिको विविधतासूचक मानिन्छ ।

ललितपुरको सानो हात्तीवन र काठमान्डुको गोकर्णेश्वरमा आज त्यहाँ विशेष चहलपहल देखिएको छ ।

लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई, राई–याक्खा समुदायले तागेरा निङ्वाफुमाङलाई इष्टदेवका रूपमा पुज्ने परम्परा छ । तागेरा निङ्वाफुमाङ आकृति–विहीन शक्तिका रूपमा मानिने भएकाले यसको मूर्ति नहुने विश्वास छ ।

पूजा सम्पन्न गरेपछि सहभागीहरूले चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत परम्परागत नृत्य प्रस्तुत गरी पर्वलाई झनै उल्लासपूर्ण बनाउँछन् । विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता तथा समुदायिक जमघटले उँधौलीलाई अझै सामुदायिक बनाएको देखिन्छ ।

पर्यावरणसँगको सान्दर्भिकता

उँभौली र उँधौली पर्वको सांस्कृतिक–आध्यात्मिक महत्त्वसँगै यसले वातावरणसँग तालमेल मिलाउने पुरातन ज्ञान पनि बोकेको छ । गर्मीमा माथि लेकतिर र जाडोमा तल झर्ने प्राकृतिक जीवनशैलीलाई यो पर्वले संस्थागत रूपमा अभिव्यक्त गर्छ । उँभौली कृषि समृद्धिको कामना गर्ने पर्व हो भने उँधौली भित्र्याइएको अन्नबालीको धन्यवाद व्यक्त गर्ने प्रकृतिप्रति कृतज्ञताको पर्व हो ।

अन्य समुदायका पर्वसँग मिल्दोजुल्दो संस्कार

यहि अवधिमा खस आर्य समुदायले मनाउने धान्य पूर्णिमा र नेवार समुदायले मनाउने ‘यः मरि पुन्हि’ (योमरी पूर्णिमा)सँग उँधौलीको भावनात्मक समानता देखिन्छ । सबै पर्वको केन्द्रविन्दु भनेको वर्षभरि उत्पादन गरेका अन्नबालीलाई देवी–देवतालाई चढाई कृतज्ञता व्यक्त गर्ने सांस्कृतिक मूल्य नै हो ।

उँधौली पर्वका दिन देशभर सार्वजनिक बिदा दिइँदै आएको छ । पर्वले समुदायिक पहिचान, कृषि–संस्कृति र प्रकृतिप्रतिको आभारलाई उजागर गर्ने भएकाले यसको महत्व समयसँगै अझै बढ्दै गएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १८, बिहीबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP