मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुकलाई इरानको कडा चेतावनी

520
SHARES
अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुकलाई इरानको कडा चेतावनी

काठमाडौं । इरानले अमेरिकी सेनालाई आफ्नो भूभाग, सैन्य आधार वा कुनै पनि प्रकारको सुविधा उपलब्ध गराउने खाडी मुलुकलाई इरानविरुद्धको आक्रमणमा प्रत्यक्ष सहभागी ठहर गरिने चेतावनी दिएको छ ।

इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ अली अब्दोलाहीलाई उद्धृत गर्दै समाचार एजेन्सी मेहरले जनाएअनुसार अमेरिकी सैन्य गतिविधिलाई सहयोग गर्नु वा आफ्नो भूमि प्रयोग गर्न दिनु शत्रुतापूर्ण कार्यसरह मानिनेछ ।

अब्दोलाहीले खाडी क्षेत्रमा अमेरिकी सैन्य आधारमा ठूलो संख्यामा सैन्य विमान, विशेषगरी हवाई इन्धन भर्ने विमान, सम्बन्धित देशको जानकारी वा सहमतिबिना तैनाथ हुने सम्भावना अत्यन्त न्यून रहेको बताए । त्यसैले आफ्नो भूभाग इरानविरुद्ध प्रयोग गर्न नदिने घोषणा गरेका खाडी राष्ट्रहरूको वास्तविक अवस्थाबारे तेहरान पूर्ण रूपमा जानकार रहेको उनको भनाइ छ ।

उनले अमेरिकी सेनालाई प्रदान गरिने कुनै पनि सैन्य सुविधा वा सहयोगलाई इरानमाथिको हमलामा प्रत्यक्ष संलग्नताको रूपमा व्याख्या गरिने स्पष्ट पारे ।

यो चेतावनी खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार र तिनको सम्भावित प्रयोगलाई लक्षित गर्दै आएको विश्लेषण गरिएको छ ।

इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि जारी द्वन्द्व अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणपछि सुरु भएको थियो । त्यसको प्रत्युत्तरमा इरानले मध्यपूर्वभर रहेका अमेरिकी सैन्य आधारमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि क्षेत्रीय तनाव झन् चर्किएको छ ।

यसैबीच अमेरिकी नौसेनाले विमानवाहक युद्धपोत यूएसएस जर्ज वासिङ्टन लाई मध्यपूर्वमा पुनः तैनाथ गर्ने तयारी गरेको छ । चालक दलको जीवनयापनसम्बन्धी समस्या देखिएपछि उक्त युद्धपोतलाई यूएसएस अब्राहम लिंकनको स्थानमा पठाउन लागिएको अमेरिकी पक्षले जनाएको छ ।

खाडी राष्ट्रहरूले आफूहरू इरानविरुद्धको युद्धमा प्रत्यक्ष सहभागी नहुने अडान दोहोर्याइरहेका बेला तेहरानले अमेरिकी सैन्य उपस्थितिका विषयमा उनीहरूमाथि कूटनीतिक दबाब बढाउन थालेको देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३, बुधबार १०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP