मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गभर्नर पौडेलको सम्पत्ति विवरणः घर, सुन, सेयर र विदेशी खातासहित करिब २३ करोड

2.5K
SHARES
गभर्नर पौडेलको सम्पत्ति विवरणः घर, सुन, सेयर र विदेशी खातासहित करिब २३ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको गभर्नरमा नियुक्तिपछि सार्वजनिक पदधारीका रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाअनुसार उनले यो विवरण राष्ट्र बैंकमा बुझाएका हुन् ।

उक्त विवरणअनुसार गभर्नर पौडेलसँग करिब २३ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिन्छ । उनीसँग ललितपुर र नवलपरासीमा दुई स्थानमा घरजग्गा, सुन–हिरा, बैंकमा रकम, डलर खाता र करोडौँ मूल्यका शेयर रहेका छन् ।

घरजग्गा: दुई ठाउँमा स्वामित्व
पौडेलको नाममा घर नदेखिए पनि उनकी श्रीमती प्रतिभा पौडेलको नाममा ललितपुरमा ५ आना २ दाम क्षेत्रफलको जग्गामा २७९५ वर्गफिटको घर रहेको उल्लेख गरिएको छ । सो सम्पत्ति खरीदका लागि उनले पैतृक सम्पत्ति र स्वआर्जनको स्रोत उल्लेख गर्दै १ करोड ५५ लाख रुपैयाँ खर्च भएको जनाएका छन् ।

त्यस्तै, गैंडाकोट (नवलपरासी) मा पनि उनले ६० लाख रुपैयाँमा घर किनेको विवरण उल्लेख गरेका छन्, जुन घरसमेत पैतृक सम्पत्ति र व्यक्तिगत आम्दानीबाट खरिद गरिएको हो ।

गहना, हिरा र विदेशी मुद्रा
गभर्नर पौडेलसँग ४५ तोला सुनका गहना छन्, जसको मूल्य हालको बजार दरअनुसार करिब ८६ लाख ४० हजार रुपैयाँ पर्छ । ती गहना उनले पैतृक रूपमा प्राप्त गरेको उल्लेख छ । यस्तै, उनका साथमा १५ लाख रुपैयाँ बराबरको हिरा रहेको विवरणमा छ ।

पौडेल दम्पतीको संयुक्त रूपमा विभिन्न बैंकहरू (सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंक) मा २० लाख ६८ हजार रुपैयाँजति रकम बचत खातामा छ । त्यस्तै, डलर खातामा पनि केही रकम रहेको उल्लेख छ— पौडेलको नाममा ६६ अमेरिकी डलर र पत्नीको नाममा ४४४६ अमेरिकी डलर, जसको नेपाली मूल्य करिब ६ लाख २२ हजार रुपैयाँ पर्छ ।

करोडौंका सेयर लगानी
गभर्नर पौडेलसँग सेयरमा ठुलो लगानी छ । उनीसँग सानिमा बैंक, सानिमा माई हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी लिमिटेडमा सेयर रहेको विवरण छ ।

प्रस्तुत विवरणअनुसार, सानिमा माई हाइड्रोका सेयर मात्र करिब ५ करोड ५७ लाख रुपैयाँ बराबरका छन्, हाल बजार मूल्य प्रति सेयर ६०२ रुपैयाँका दरमा । अन्य सेयरहरू प्रवर्द्धक सेयर भएका कारण बजारमा प्रत्यक्ष कारोबार हुने खालका छैनन्, तर ती पनि महत्त्वपूर्ण मूल्य राख्ने बताइएको छ ।

श्रीमतीका नाममा गाडी
पौडेलकी पत्नीको नाममा ४४ लाख रुपैयाँ मूल्यको सुजुकी ब्रान्डको कार रहेको विवरणमा समावेश छ । कार खरीदको स्रोत पनि वैध आम्दानी भएको उल्लेख गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ११, बुधबार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP