मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नाडा अटो शो २०२६ सुरु, २०० भन्दा बढी स्टलमा नयाँ सवारी र प्रविधिको प्रदर्शनी

455
SHARES
नाडा अटो शो २०२६ सुरु, २०० भन्दा बढी स्टलमा नयाँ सवारी र प्रविधिको प्रदर्शनी

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शोको उद्घाटन गरेसँगै यस वर्षको अटो शो औपचारिक रूपमा सुरु भएको हो । प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन समारोहमा नाडाका अध्यक्ष उपेन्द्र उप्रेतीले नेपालमा सवारी साधनलाई हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए । उनका अनुसार सवारी साधन अब विलासिताको वस्तुमा सीमित नभई नागरिकको दैनिक आवागमन, व्यवसाय र रोजगारीसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता बनिसकेको छ ।

अटोमोबाइल क्षेत्रले १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको र वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान गर्दै आएको उल्लेख गर्दै उप्रेतीले यस क्षेत्रलाई अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए ।

उनले काठमाडौंमा पर्याप्त प्रदर्शनी पूर्वाधारको अभावले अटोमोबाइल क्षेत्रको सम्भावना पूर्ण रूपमा प्रस्तुत गर्न कठिन भइरहेको गुनासो पनि गरे । भृकुटीमण्डपको संरचना ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शनका लागि पर्याप्त नभएको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष उप्रेतीले अटोमोबाइल व्यवसायमा दीर्घकालीन लगानी आकर्षित गर्न नीतिगत स्थिरता आवश्यक रहेको बताए । करका दर तथा नीतिमा बारम्बार हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले स्थिर र लगानीमैत्री कर नीति अपनाउन सरकारसँग आग्रह गरे ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले यसलाई नयाँ औद्योगिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । उनका अनुसार सवारी एसेम्बल उद्योगसँगै नेपालमै कम्पोनेन्ट तथा पार्टपुर्जा उत्पादनमा पनि जोड दिन आवश्यक छ । स्वदेशमै उत्पादन हुने सवारी साधन र त्यससँग सम्बन्धित उद्योगलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्न थप सहुलियत तथा प्रोत्साहन आवश्यक रहेको उनको भनाइ छ ।

स्वच्छ ऊर्जा, नयाँ प्रविधि र विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ पूर्वाधार विकासमा सरकार तथा निजी क्षेत्रसँग सहकार्य गर्न नाडा तयार रहेको पनि उनले बताए ।

यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल राखिएका छन् । प्रदर्शनीमा २३ वटा चारपांग्रे सवारी, १७ वटा कमर्सियल सवारी, १३ वटा दुईपांग्रे सवारी तथा ७० वटा अटो कम्पोनेन्टसम्बन्धी स्टल छन् । यसबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतका स्टल पनि राखिएका छन् ।

अटो शोमा सवारी साधनसँगै अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अटोमोबाइलसम्बन्धी विभिन्न उत्पादन र सेवाहरू प्रदर्शनमा राखिएका छन् । नेपालमै एसेम्बल भएका सवारी साधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीसमेत प्रदर्शनीका आकर्षण बनेका छन् ।

नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यस वर्षको शो ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गरिएको हो । प्रदर्शनीमा जी–१ ह्युमानोइड रोबोट, जेडओ–२ क्वाड्रपेड रोबोटलगायत भविष्यमा यातायात क्षेत्रमा प्रयोग हुन सक्ने नयाँ प्रविधिको समेत प्रदर्शन गरिएको छ ।

स्वदेशमै उत्पादित सवारी साधन, पार्टपुर्जा तथा अटोमोबाइल प्रविधिको प्रदर्शनलाई प्राथमिकता दिइएको यस वर्षको अटो शोले नेपालमा विकसित हुँदै गएको विद्युतीय तथा आधुनिक सवारी प्रविधिको अवस्थासमेत उजागर गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ९, मंगलवार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP