मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मलेसियाको नयाँ डिजिटल नीति: १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक

1.3K
SHARES
मलेसियाको नयाँ डिजिटल नीति: १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक

काठमाडौं । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था मलेसियाले सरकारले लागू गरेको छ । जुन १, २०२६ देखि कार्यान्वयनमा आएको यो नियमले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा उमेरको कडाइका साथ निगरानी गर्ने बाटो खोलेको छ ।

मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोग (MCMC) ले बालबालिकालाई साइबर बुलिङ, हिंसात्मक तथा अश्लील सामग्री र सामाजिक सञ्जालको लतबाट जोगाउन यस्तो निर्णय गरिएको जनाएको छ । नयाँ व्यवस्थाअनुसार ८० लाखभन्दा बढी प्रयोगकर्ता भएका प्लेटफर्महरूले अनिवार्य रूपमा उमेर प्रमाणीकरण प्रणाली लागू गर्नुपर्नेछ ।

प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्र, राहदानी वा सरकारी डिजिटल परिचयपत्रमार्फत आफ्नो उमेर पुष्टि गर्नुपर्नेछ । नियम उल्लंघन गर्ने सामाजिक सञ्जाल कम्पनीलाई एक करोड रिङ्गिटसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

हाल सक्रिय खाताहरूमा पनि आगामी छ महिनाभित्र उमेर प्रमाणीकरण लागू गरिनेछ । १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता भेटिएमा खाता बन्द गर्नुअघि उनीहरूलाई आफ्ना सामग्री डाउनलोड वा स्थानान्तरण गर्न एक महिनाको समय दिइनेछ ।

हालै किशोर–किशोरी संलग्न हिंसात्मक घटनाहरू र अनलाइनमार्फत आपत्तिजनक सामग्री फैलिएका घटनापछि सरकारले यो कदम चालेको हो । साथै सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्ना एल्गोरिदम परिमार्जन गरी बालबालिकासम्म हानिकारक सामग्री र विज्ञापनको पहुँच कम गर्न पनि निर्देशन दिइएको छ ।

यद्यपि यो निर्णयप्रति अभिभावक र प्रविधि क्षेत्र विभाजित देखिएका छन् । केहीले बाल सुरक्षाका लागि आवश्यक कदम भनेका छन् भने केहीले यसले किशोरहरूलाई वैकल्पिक र कम सुरक्षित डिजिटल माध्यमतर्फ धकेल्न सक्ने तर्क गरेका छन् । गोपनीयता अधिकारका पक्षधरहरूले सरकारी परिचयपत्रमार्फत उमेर प्रमाणीकरण गर्दा व्यक्तिगत डेटा सुरक्षामा चुनौती थपिन सक्ने चेतावनी दिएका छन् ।

यससँगै मलेसिया बालबालिकाको सामाजिक सञ्जाल पहुँच नियन्त्रण गर्ने नीति अपनाउने देशहरूको सूचीमा थपिएको छ । यसअघि अस्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै कदम चालिसकेका छन् भने अन्य केही देशहरूले पनि समान प्रकृतिका नियमहरूको अध्ययन गरिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ०१:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP