मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठमेलबाट १५ बङ्गलादेशी पक्राउ, सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गरेको आरोप

351
SHARES
ठमेलबाट १५ बङ्गलादेशी पक्राउ, सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गरेको आरोप

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा बसेर सामाजिक सञ्जालमार्फत ठगी तथा ब्ल्याकमेलिङमा संलग्न रहेको आरोपमा १५ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ती नागरिकहरू भिजिट भिसामा नेपाल प्रवेश गरे पनि भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरूमा एमडी मजिदुल इस्लाम रेडोय, सफिउल इस्लाम, अपन चन्दा साहा, अब्दुल्लाह अल जोबाएर, अबुल हस्नाई, अल साहरियार, फैसल, आजाद हुसेन, एमडी अजमैन, एमडी तामिम हसन सौरव, एमडी जकारिया जन्नत, सकिल अनवर, हरजोत बिलाल राफत, ओमित हसन शेकात र एमडी इमाम हसन स्वाधीन रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित एक होटलमा कोठा भाडामा लिएर आफ्नो गतिविधि सञ्चालन गर्दै आएका थिए । अनुसन्धानका क्रममा उनीहरूले विदेशी मोडल तथा युवतीहरूको तस्वीर प्रयोग गरी फेसबुकमा नक्कली प्रोफाइल बनाउने, त्यसमार्फत बङ्गलादेश र भारतका नागरिकहरूसँग सम्पर्क बढाउने तथा विभिन्न बहानामा धम्की र ब्ल्याकमेल गरेर रकम असुल्ने गरेको पाइएको छ ।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको जानकारी दिए । उनीहरूमाथि अध्यागमन ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १८, सोमबार १२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP