मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा अनुमोदित

468
SHARES
डा. मनोज शर्मा प्रधानन्यायाधीशमा अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोज शर्मा को नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय गरेको हो ।

समितिबाट अनुमोदन भएसँगै अब संसद् सचिवालयले निर्णय राष्ट्रपति कार्यालयमा पठाउनेछ । त्यसपछि राष्ट्रपतिबाट औपचारिक नियुक्तिपछि शर्मा मुलुकको प्रधानन्यायाधीश बन्नेछन् ।

यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट प्राप्त ६ जनाको सूचीमध्ये सर्वोच्च अदालतका न्यायाधीश शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । शर्मा हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश हुन् ।

तर उनको सिफारिससँगै न्यायालयभित्र र कानुन व्यवसायी वृत्तमा विवाद चर्किएको थियो । वरिष्ठताक्रमको स्थापित अभ्यास तोड्दै शर्मा अघि सारिएको भन्दै नेपाल बार एशोसिएसन लगायतका संस्थाले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपन प्रधान मल्ललाई स्वाभाविक रूपमा प्रधानन्यायाधीशको दाबेदार मानिँदै आएको थियो । तर वरिष्ठता मिचेर शर्मा सिफारिस भएपछि न्यायालयभित्र असन्तुष्टि देखिएको छ ।

सरकारले यसअघि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर परिषद्को निर्णय प्रक्रिया सहज बनाएको थियो । उक्त अध्यादेशमा ६ सदस्यीय परिषद्मा ३ जना सदस्य उपस्थित भए पनि निर्णय गर्न सकिने व्यवस्था गरिएको थियो । यही व्यवस्थापछि बसेको परिषद् बैठकले शर्माको नाम अनुमोदनका लागि अघि बढाएको थियो ।

शर्माको सिफारिसमा भने परिषद्भित्रै मतभेद देखिएको थियो । प्रमुख प्रतिपक्ष दलका नेता भिष्मराज आङ्देम्बे र नारायण दाहाल ले असहमति जनाएका थिए । दुई सदस्यको फरक मतका बीच संवैधानिक परिषद्ले शर्माको नाम पारित गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ५, मंगलवार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP