मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फागुन २१ कै निर्वाचनमा दलहरूको जोड, समय सरे प्रतिनिधिसभा पुनर्स्थापनाको चेतावनी

2.7K
SHARES
फागुन २१ कै निर्वाचनमा दलहरूको जोड, समय सरे प्रतिनिधिसभा पुनर्स्थापनाको चेतावनी

काठमान्डु । तोकिएको फागुन २१ गतेकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा अधिकांश राजनीतिक दलहरू एकमत देखिएका छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा सहभागी नेताहरूले सरकार, निर्वाचन आयोग र सबै दलहरू मिलेर निर्धारित समयमै चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेताहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माण गर्न सरकारले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । छलफलका क्रममा केही दलका नेताहरूले सरकार स्वयं निर्वाचन मिति सार्ने तयारीमा त छैन भन्ने शंका व्यक्त गर्दै यदि फागुन २१ मा निर्वाचन नभए प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नहुने चेतावनी दिए ।

नेकपाको चेतावनीः मिति पर धकेल्यो भने अस्वीकार्य
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले घोषित मितिमै निर्वाचन गराउने प्रतिबद्धता जनाउनु सकारात्मक भएको बताए । तर संविधानविपरीत निर्वाचन सार्ने प्रयास भए स्वीकार्य नहुने उनको चेतावनी छ । पूर्वअर्थमन्त्री पुनले ६ महिनाभित्र नयाँ संसद् नआए या त सडकले निर्णय गर्ने या पुरानै संसद् पुनःस्थापना हुने अवस्था आउने उल्लेख गरे ।

“खेल सुरु भइसकेपछि नियम फेरिनु हुँदैन,” पुनले भने, “बीचमै कानुन बदलियो भने त्यसले द्वन्द्व निम्त्याउन सक्छ ।”

जनमोर्चा र जनमतको असन्तुष्टि
राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले फागुन २१ को निर्वाचन अत्यन्त महत्वपूर्ण रहेको भन्दै चुनाव नै ‘कोर्स करेक्सन’ को सही बाटो भएको बताए । यद्यपि उनले वर्तमान सरकार असंवैधानिक ढंगले बनेको टिप्पणी गरे ।

जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहले भने निर्वाचन आयोग र सरकार स्वयं चुनावप्रति विश्वस्त नदेखिएको आरोप लगाए । निष्क्रिय अध्यादेशको आडमा पार्टी विभाजन गरिएको भन्दै त्यसमा संलग्न व्यक्तिहरूमाथि कारबाही नभएसम्म निर्वाचनप्रति विश्वास गर्न नसकिने उनको भनाइ छ ।

राप्रपा र एमालेको धारणा
राप्रपाका नेता राजेन्द्र गुरुङले राजनीतिक दल, सरकार र जेन–जीबीच नवीन सहमति गरेर मात्र मुलुकलाई निकास दिन सकिने बताए । निषेधको राजनीति त्यागेर समझदारीको बाटो अपनाउन उनले आग्रह गरे ।

नेकपा एमालेका सचिव महेश बस्नेतले सैद्धान्तिक रूपमा निर्वाचनको पक्षमा भए पनि सरकारका गतिविधिले चुनाव हुनेमा विश्वस्त हुन नसकेको बताए । उनले प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग प्रत्यक्ष छलफल गर्नुपर्ने सुझाव दिए ।

कांग्रेसको आग्र: वातावरण निर्माण सरकारको जिम्मा
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले निर्वाचन सम्पन्न हुने वातावरण बनाउन प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग संवाद गर्नुपर्ने बताए । सुरक्षा प्रत्याभूति र भयरहित वातावरण निर्माणमा सरकार कमजोर देखिएको उनको आरोप छ ।

“निर्वाचन समयमै भएन भने प्रधानमन्त्री कार्की र राष्ट्रपति रामचन्द्र पौडेलको लिगेसीसँग यो विषय जोडिन्छ,” यादवले चेतावनी दिए ।

सर्वदलीय छलफलमा समग्रमा एउटा साझा सन्देश देखिएको छ— फागुन २१ कै मितिमा निर्वाचन हुनैपर्छ, अन्यथा राजनीतिक संकट थप गहिरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ७, सोमबार १२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP