मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनार्दन शर्मा माओवादीबाट अलग, ‘प्रगतिशील अभियान नेपाल’को घोषणा

1.6K
SHARES
जनार्दन शर्मा माओवादीबाट अलग, ‘प्रगतिशील अभियान नेपाल’को घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टी परित्याग गरी नयाँ राजनीतिक अभियान ‘प्रगतिशील अभियान नेपाल’को घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले यो नयाँ अभियान सार्वजनिक गरेका हुन् ।

शर्मासँगै माओवादीका वरिष्ठ नेता राम कार्की र अञ्जना विसंखे पनि अभियानमा सहभागी भएका छन् । पत्रकार सम्मेलनमा दुवै नेताहरू शर्मासँगै उपस्थित थिए ।

शर्माले प्रगतिशील अभियान नेपालमार्फत माओवादी आन्दोलनका बाँकी कार्यभार पूरा गर्ने र वाम आन्दोलनलाई नयाँ ढंगले पुनःगठन गर्ने घोषणा गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि गम्भीर आरोप लगाउँदै भने, “अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो । हामीले त्यो कुरा स्वीकार गरेका छैनौं ।”

उनका अनुसार माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ‘एकताको नाटक’ खेलेको हो । शर्मा भन्छन्, “महाधिवेशन गर्ने भनेर बनेको आयोजक समितिले त्यही महाधिवेशन टारेको छ । प्रतिस्पर्धाबाट नेतृत्व स्थापित हुन नदिने, विधि र पद्धति मिच्ने काम भइरहेको छ ।”

शर्माले वर्तमान माओवादी नेतृत्वमाथि सांगठनिक अराजकता र स्वार्थकेन्द्रित राजनीतिको आरोप लगाउँदै भने, “हजारौं केन्द्रीय कमिटी र सयौं सचिवालय बनाइँदैछन्, जसको कुनै अर्थ रहने छैन । यो क्रमले विधिहीनतालाई संस्थागत गर्छ ।”

उनीसँग संवादमा रहेका नेताहरूमा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरू ( झलनाथ खनाल, घनश्याम भुसाललगायत) पनि रहेको बताइएको छ ।

शर्माले आफ्नो नयाँ अभियानलाई सहिदहरूको बलिदान र अधूरा क्रान्तिकारी लक्ष्य पूरा गर्ने प्रयासको रूपमा प्रस्तुत गर्दै भने, “हामीले सहिदका बलिदानलाई खेर जान दिनेछैनौं । जनताको पक्षमा प्रगतिशील पुनर्गठनको यात्रा अब नयाँ ढंगले अघि बढ्नेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP