मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२०२६ क्रिकेट क्यालेन्डर सार्वजनिक, विश्वकपदेखि एनपीएलसम्म व्यस्त वर्ष

2.7K
SHARES
२०२६ क्रिकेट क्यालेन्डर सार्वजनिक, विश्वकपदेखि एनपीएलसम्म व्यस्त वर्ष

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि विस्तृत क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार जारी क्यालेन्डरअनुसार जनवरीदेखि डिसेम्बरसम्म पुरुष, महिला तथा युवा टोलीका लागि स्वदेशी र वैदेशिक प्रतियोगिताहरू समेटिएका छन् । क्यानका अनुसार सन् २०२६ नेपाली क्रिकेटका लागि प्रतिस्पर्धात्मक र ऐतिहासिक वर्ष हुने अपेक्षा गरिएको छ ।

क्यालेन्डरको सबैभन्दा ठूलो आकर्षण फेब्रुअरीमा भारतमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप हो । यो प्रतियोगितालाई वर्षकै मुख्य लक्ष्यका रूपमा लिइएको छ । यसबाहेक, आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले मार्च, मे, जुलाई र अक्टोबरमा विभिन्न अन्तर्राष्ट्रिय शृङ्खलाहरू खेल्नेछ, जसले विश्वकप छनोट यात्रालाई थप मजबुत बनाउने क्यानको विश्वास छ ।

मार्च र मे महिनामा नेपालले घरेलु मैदानमै ओमान, युएई, अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । घरेलु मैदानमा निरन्तर अन्तर्राष्ट्रिय खेल आयोजना हुँदा खेलाडीको प्रदर्शनसँगै दर्शकको उत्साह पनि बढ्ने अपेक्षा गरिएको छ । यस्तै, अक्टोबर र नोभेम्बरमा बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने उल्लेख गरिएको छ, जसले नेपाली क्रिकेटमा व्यावसायिकता थप्ने विश्वास लिइएको छ ।

महिला क्रिकेटतर्फ पनि यो वर्ष व्यस्त रहनेछ । जनवरीमा नेपालले आईसीसी महिला टी–२० विश्वकप छनोटको आयोजना गर्नेछ । त्यसपछि जुन महिनामा संयुक्त अधिराज्यमा हुने आईसीसी महिला टी–२० विश्वकप र जुलाईमा हुने महिला एसिया कप महिला टोलीका लागि प्रमुख वैदेशिक प्रतियोगिता हुनेछन् । साथै, अप्रिलमा कुवेतसँगको द्विपक्षीय शृङ्खला र अक्टोबरमा अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलाको प्रस्ताव पनि क्यालेन्डरमा समावेश गरिएको छ ।

युवा क्रिकेट विकासलाई पनि क्यानले प्राथमिकतामा राखेको देखिन्छ । यु–१९ महिला टोलीले मार्चमा भुटान र जुनमा मलेसियाको भ्रमण गर्ने तालिका छ । अगस्टमा एसीसी पुरुष यु–१९ प्रिमियर कप तथा यु–१६ इस्ट जोन कपजस्ता महत्वपूर्ण प्रतियोगिताहरू आयोजना हुनेछन् । यस्तै, नेपाल ‘ए’ टोलीका लागि अप्रिल र मे महिनामा विभिन्न अन्तर्राष्ट्रिय शृङ्खलाहरू प्रस्ताव गरिएका छन् ।

क्यालेन्डरअनुसार वर्षको अन्त्य अर्थात् डिसेम्बरमा पुरुष र महिला दुवै टोलीले अन्तर्राष्ट्रिय शृङ्खलाहरू खेल्नेछन् । धेरैजसो प्रतियोगिताहरू घरेलु मैदानमै आयोजना हुने भएकाले सन् २०२६ नेपाली क्रिकेट समर्थकहरूका लागि विशेष उत्साह र रोमाञ्चक वर्ष हुने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १९, शनिबार ०५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP