मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न, भक्तजनको मनोकाङ्क्षा पूर्तिको कामना

949
SHARES
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न, भक्तजनको मनोकाङ्क्षा पूर्तिको कामना

काठमाडौं । सूर्यदेवको आराधना, श्रद्धा र भक्तिपूर्वक पूजासँग जोडिएको छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ ।

धार्मिक परम्पराअनुसार भक्तजनले नदी, ताल र पोखरी किनारमा कम्मरसम्मको पानीमा डुबेर गाईको दूध, फूल र जलले सूर्यलाई अर्घ्य अर्पण गरी छठ पूजा सम्पन्न गर्छन् । बिहानको अर्घ्यलाई ‘भिन्सरघाट पूजा’ भनिन्छ, जसमा सूर्योदयकालमा सूर्यदेवको दर्शन गरेर व्रत समाप्त गर्ने विधि रहिआएको छ ।

धर्मशास्त्रविद्का अनुसार सूर्यदेवको पूजा र जलमाताको आराधना जीवनको सञ्चालन र संरक्षणसँग सम्बन्धित धार्मिक दर्शन हो । शास्त्रमा कार्तिक शुक्ल षष्ठी अर्थात् सूर्यषष्ठीको अवसरमा सूर्य पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिएको उल्लेख छ ।

यस अवसरमा विवाहित महिलाले पति–पत्नीको दीर्घायुका लागि, अविवाहित युवायुवतीले सुयोग्य जोडी प्राप्तिको कामनाका लागि र सन्तान प्राप्तिको इच्छाले पनि व्रत बस्ने चलन छ । कठोर व्रतका रूपमा मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सञ्चालन हुन्छ ।

मिथिला संस्कृतिमा आधारित छठ विशेषगरी तराईमा प्रचलित भए पनि २०४६ सालपछि राजधानी काठमाडौंसहित पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको हो । विसं २०६२ मा छठ पूजा समिति आधिकारिक रूपमा दर्ता भएपछि गुह्येश्वरी, गौरीघाट र थापाथलीका घाटमा विशेष रौनकका साथ छठ मनाउन थालियो ।

छठको उत्पत्तिसम्बन्धी धार्मिक कथनअनुसार महाभारतकालमा द्रौपदीले पाण्डवहरूको अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेकी थिइन् । त्यही समयदेखि सूर्यपूजा गर्ने परम्परा सुरु भएको विश्वास छ । यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, जसबाट यो पर्वको आरम्भ भएको मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP