मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संख्याको तागत विवेकभन्दा ठूलो हुँदा संघर्ष कठिन बनेको छ :प्रचण्ड

1.5K
SHARES
संख्याको तागत विवेकभन्दा ठूलो हुँदा संघर्ष कठिन बनेको छ :प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले माओवादी आन्दोलनको संघर्षलाई कठिन बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’ले लिखेको पुस्तक “संघर्षमा सिरानचोक” को लोकार्पण तथा विमर्श कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई विद्यालय, कलेज, गाउँ र शहरमा स्थापित गर्न सकिएको भए अहिले देखिएका अराजकता र बेथितिहरू रोक्न सकिने धारणा राखे ।

उनले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै, प्रत्येक पालिका र वडा स्तरसम्म भएका त्याग, तपस्या र बलिदानको अभिलेखलाई राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताए ।

“यो अभियान ७५३ पालिकामा विस्तार हुनु जरुरी छ। यसले गणतन्त्रका लागि योगदान गर्ने कांग्रेस, एमाले, माओवादी वा जुनसुकै दलसँग सम्बन्धित सहिद र योद्धाहरूलाई समान सम्मान गर्ने बाटो खोल्छ,” प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले प्रज्ञा प्रतिष्ठानमा माओवादी जनयुद्धसँग सम्बन्धित कृतिहरूलाई गरिएको विभेद पछिल्लो समय सच्याउने प्रयास भएकोमा आभार प्रकट गर्दै जनयुद्धलाई इतिहासको महत्वपूर्ण अंगका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए । उनले जनयुद्धलाई साहित्य, दर्शन र संस्कृतिको दृष्टिमा मौलिक सौन्दर्य र ऐतिहासिक योगदान भएको भन्दै विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राखे ।

उनका अनुसार नेपाली जनयुद्धको तयारी केवल मार्क्स, एंगेल्स, लेनिन वा माओका ग्रन्थ पढेर नभई नेपालकै विगतका विद्रोह र आन्दोलनहरूको अध्ययनका आधारमा गरिएको थियो । लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान आन्दोलनसम्मको इतिहास नै रणनीतिको आधार रहेको उनले स्मरण गरे ।

युद्धका क्रममा कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादी आन्दोलनमा मौलिक रहेको प्रचण्डले बताए । तर विभाजन र अन्तरद्वन्द्वका कारण महत्वपूर्ण उपलब्धिहरू जनतामाझ पूर्ण रूपमा स्थापित गर्न नसकिएको स्वीकार गर्दै गणतन्त्रलाई संस्थागत गर्न जनयुद्धको सही मूल्याङ्कन आवश्यक रहेको उनको भनाइ छ ।

पुस्तक “संघर्षमा सिरानचोक”लाई उनले केवल सिरानचोकको इतिहास नभई देशभरका विद्रोह र त्याग–तपस्याको सामूहिक अभिलेखका रूपमा लिनुपर्ने बताए । “यो पुस्तकले विद्रोह र त्यागको इतिहास लेखनको नयाँ उद्घाटन गरेको छ। सबैलाई एकतावद्ध गरेर अराजकता र बेथितिविरुद्ध लड्ने प्रेरणा दिन्छ,” भन्दै उनले लेखक गुराँस पुडासैनीलाई धन्यवाद दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP