मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष महाधिवेशनले कांग्रेसलाई दोबाटोमा पुर्‍यायो, विभाजनको जोखिम गहिरिँदै

1.8K
SHARES
विशेष महाधिवेशनले कांग्रेसलाई दोबाटोमा पुर्‍यायो, विभाजनको जोखिम गहिरिँदै

काठमाडौं । नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले आह्वान गरेको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेसँगै पार्टी गम्भीर राजनीतिक मोडमा आइपुगेको छ । पार्टी रूपान्तरण र संरचनात्मक सुधारको एजेन्डामा संस्थापन पक्ष लचिलो नबन्दा कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको आँकलन राजनीतिक वृत्तमा हुन थालेको छ ।

मंगलबार साँझ विशेष महाधिवेशनमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका पार्टीको समग्र संरचनात्मक सुधार, संगठन सुदृढीकरण र नेतृत्व परिवर्तनसम्बन्धी प्रस्तावहरू बहुमतले पारित भएका छन् । प्रस्ताव पारित भएसँगै महामन्त्री गगन थापाले आफूहरू विद्रोही धारमा उभिएको सन्देश अब देशव्यापी रूपमा लैजाने स्पष्ट संकेत दिएका छन् ।

थापाले अब पार्टीका निर्णयहरू महाधिवेशन हल बाहिरबाट हुने परम्पराको अन्त्य भएको दाबी गर्दै, बाहिर भइरहेका सहमतिको प्रयास झन् जटिल बन्दै गएको बताए । “प्रक्रिया अघि बढिसकेपछि अब यसलाई रोक्ने वा हस्तक्षेप गर्ने अधिकार कसैसँग छैन” भन्ने उनको भनाइले विशेष महाधिवेशन अब फिर्ता नहुने बाटोमा पुगेको संकेत गरेको छ ।

गगनलाई भावी नेतृत्वको प्रस्ताव
यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्वका साथै भावी प्रधानमन्त्रीको रूपमा समेत प्रस्ताव गरेका छन् । उनले विशेष महाधिवेशनले कांग्रेसमा नयाँ ऊर्जा, नयाँ सोच र पुस्तान्तरणसहितको नेतृत्व जन्माउने दाबी गर्दै पार्टीलाई पुनर्जीवित गर्ने अवसरका रूपमा यसलाई चित्रण गरे ।

शर्माको यो प्रस्तावले विशेष महाधिवेशन पक्षधरहरूलाई थप उत्साहित बनाएको छ भने संस्थापन पक्षमा भने थप दबाब सिर्जना भएको देखिन्छ । कांग्रेसभित्र नेतृत्वको पुस्तान्तरण अब नरोकिने प्रक्रियामा प्रवेश गरेको सन्देश यसले दिएको छ ।

नेतृत्व चयनतर्फ औपचारिक कदम
विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा मंगलबार दिउँसोबाट नै नेतृत्व चयनका लागि औपचारिक चुनावी प्रक्रिया सुरु भइसकेको छ । सभापति, पदाधिकारी तथा केन्द्रीय नेतृत्वमा आकांक्षा राख्ने नेताहरूले फारम लिन थालेका छन् ।

महामन्त्री थापाले यो विशेष महाधिवेशन आन्दोलन र विद्रोहको स्वरूपमा रहेकाले नेतृत्वका आकांक्षीहरूलाई संयमित र उदार हुन अपिल गरेका छन् । “यो छोटो समयका लागि नेतृत्व सम्हाल्ने प्रक्रिया हो । त्यसपछि नियमित महाधिवेशनमा जाने हो । सबैले पदप्रतिको आकांक्षा भन्दा अभियानको उद्देश्यलाई प्राथमिकता दिए मात्र यसको अर्थ रहन्छ,” उनले प्रतिनिधिहरूलाई सम्झाएका छन् ।

सहमतिको प्रयास निष्फल
संस्थापन पक्षसँग सहमति खोज्न सोमबारदेखि नै निरन्तर प्रयास भए पनि मंगलबारसम्म कुनै ठोस नतिजा ननिस्किएको नेताहरूले बताएका छन् । दिनभर संस्थापन पक्ष, शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरहरूबीच वार्ता भए पनि आधारभूत विषयमा सहमति जुट्न सकेन ।

विशेष महाधिवेशन पक्षधरहरूले पार्टी सुधारका प्रस्ताव पारित गर्नुपर्ने, शेरबहादुर देउवाले सभापति पद छोड्नुपर्ने र विशेष महाधिवेशनलाई संस्थापन पक्षले औपचारिक रूपमा स्वामित्व लिनुपर्ने जस्ता माग अघि सारेका थिए । तर संस्थापन पक्ष यी मागप्रति अडानमै रह्यो ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको कारण मंगलबार दिउँसो बोलाइएको केन्द्रीय समिति बैठकसमेत बस्न सकेन । साँझ छोटो समयका लागि बसेको बैठकले बुधबार बिहानका लागि बैठक सार्ने निर्णय मात्र गरेको छ ।

संवाद कायम, तर दबाब बढ्दो
विशेष महाधिवेशन पक्षधरहरूले संवाद पूर्ण रूपमा बन्द नगरेको दाबी गरेका छन् । गुरुराज घिमिरे, प्रदीप पौडेल र देवराज चालिसे वार्ताको मोर्चामा सक्रिय छन् । तर वार्ता महाधिवेशनलाई लम्ब्याउने र अल्झाउने रणनीतिमा सीमित भएको निष्कर्ष विशेष महाधिवेशन पक्षधरहरूको छ ।

मंगलबार महाधिवेशनस्थलमा प्रतिनिधि र समर्थकहरूले ‘अब निर्णय चाहियो, वार्ताको नाममा ढिलाइ होइन’ भन्दै नाराबाजीसमेत गरेका थिए । यसले विशेष महाधिवेशन अब नीति र नेतृत्वबारे ठोस निर्णय नगरी अघि बढ्न नसकिने चरणमा पुगेको स्पष्ट देखाएको छ । नीतिगत विषय भने प्रस्ताव पारित भएसँगै टुंगो लागिसकेको छ । अब सबैको ध्यान नेतृत्व चयनतर्फ केन्द्रित भएको छ, जसको टुंगो बुधबार लाग्ने अपेक्षा गरिएको छ ।

कारबाही र विभाजनको सम्भावना
बीचबीचमा संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरका माग सम्बोधन गर्ने कुनै स्वीकार्य प्रस्ताव ल्याउन सक्ला कि भन्ने झिनो आश बाँकी नै छ । तर विभाजनको रेखा स्पष्ट बन्दै गएकाले सामान्य सहमतिको प्रस्तावले यो संकट टार्न सक्ने सम्भावना कमजोर देखिएको छ ।

पार्टी कार्यालय पुगेका संस्थापन निकट केही नेताहरूले विशेष महाधिवेशनका गतिविधिका आधारमा गगन थापा लगायतका नेतामाथि कारबाहीको निर्णय हुनसक्ने संकेत दिएका छन् । यदि आज रातिसम्म सहमतिका लागि कुनै साझा विन्दु फेला परेन भने बुधबार बस्ने केन्द्रीय समिति बैठकले त्यससम्बन्धी कठोर निर्णय लिन सक्ने सम्भावना बलियो बन्दै गएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २९, मंगलवार १५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP